मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले हस्तान्तरण गर्याे ८ हजार थान मास्क
काठमाडाैं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्ने सरकार निकायको प्रयत्नलाई सहयोग गर्न एमपीआईएले उक्त सहयाेग गरेकाे हाे । सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीआईएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ परीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना महामारी विरुद्ध लडिरहेको राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।
काेराेनाकाे संक्रमण देखिएसँगै गुर्जाे खानेको संख्या ह्वात्तै बढ्याे, यस्ता रहेछन् फाइदा
काठमाडाैं । कोभिड-१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जाे खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ । ‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’, उद्योगपति सुरतबहादुर विष्टले भने- ‘गुर्जाेको झोल हाम्रो परिवारले एक वर्षदेखि खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’ उनले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताए । ‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’, विष्टले भने, ‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ ।’ गुर्जाे खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन् । ‘कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्’, स्थानीयवासी सीताकुमारी खनालले भने, ‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।’ गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ । ‘यो लहराजस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’, खनाल भन्छन्, ‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’ पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जाेको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्छ’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘सुत्केरीले बाहेक सबैले गुर्जाे प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जाे जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’ भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वेदिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउँछन् । ‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’, डा नेपाली भन्छन्, ‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा भने गर्दैन ।’