युएइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
दुबइ । युएइ (दुबइ)ले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । त्यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ । त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ । यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम पनि बनाएको सो समाचारमा जनाइएको छ । रासस/एएनआई
जुनीचाँदेमा छोरी जन्मिए १० हजार !
जाजरकाेट । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरे । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएकाे समेत शाहीले बताए । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी १ हजार ५ सय, स्थानीय तोरीको तेलका लागि ५ सय र बच्चाको कपडा किन्नका लागि ५ सय दिनुभयो”, शाहीले भने । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थपे, “मैले छोरीको जन्म दिएकै कारण थप १० हजार रूपैयाँसमेत पाएकी छु ।” उनीजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घरघरमा पुगिरहेका छन् । उनी सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको २ हजार ५ सय रूपैयाँ दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहेका छन् । भौगोलिकरूपमा विकट र सबै ठाउँमा यातायातको पहुँच नभएको जुनीचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने कामसमेत भएको छ । यो शीर्षकमा मात्र १४ लाख ७० हजार रूपैयाँ रकम विनियोजन गरी सोहीअनुसारको काम भइरहेको छ । सुत्केरी हुने बित्तिकै आचार्यको मोबाइलमा फोन आउने गरेको छ । गाउँपालिकाभरि जम्मा ४ सय सुत्केरी महिला भएको आँकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तीव्र बनाइएको छ । वडा नं १ मा ७०, २ मा ४७ र ३ मा ३६ सुत्केरीसँग बढी छलफल भएको कावा अध्यक्ष आचार्यले बताए । गाउँपालिकाभरि चार ठाउँमा मात्र बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकीको सङ्ख्या चार, उपस्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य केन्द्र ११ वटा रहेका छन् । महिला स्वयंसेविकालाई प्रोत्सहानस्वरुप गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ । स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको गाउँपालिका–११ की महिला स्वयंसेविका गौरीकला बस्नेतले जानकारी दिए । प्रत्येक महिनामा एक पटक गाउँमा स्वयंसेविकाको उपस्थितिमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिए । गाउँपालिकाले २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई १० हजारका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताए । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । यो कार्यक्रम लागू भएसँगै छोरी जन्मिने बित्तिकै हेला गर्ने प्रवृत्ति ह्वात्तै घटेकोसमेत उनकाे भनाइ छ । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाहा प्रवृत्ति देखाउने भन्दै स्थानीयवासी आफूहरुले गलत दृष्टिकोण राखेको गाउँपालिका–५ का पदम खड्काले बताए । रासस
एउटाको गर्भ, अर्कोसँग विवाह
काठमाडाैं । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ । यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताए । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताइन्, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिए”, देवले भने, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।” पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उाीहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिए । प्रनाउ भारतीले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए । बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने निकै दबाब र मानसिक तनावमा परेको बताउनुभयो । ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बोक्सी, बालविवाह, बलात्कार, बहुविवाह, चोरी, लागू औषध, कुटपिटलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताए । अधिवक्ता देवले धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुस गरेको बताएका छन् । रासस