करेन्ट लागेर महिलाको मृत्यु
काठमाडाैं । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको वयानपछि सबै कुरो खुल्ने छ ।” गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ । करेन्ट लागेर मृत्यु भएकी निज महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन् । रासस
पूँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल
काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उनले पूँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए । पूँजीवादीहरु जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले साम्यवादीहरु पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको उल्लेख गरे । वरिष्ठ नेता पौडेलले गाउँको विकास, गाउँको उन्नति, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको उल्लेख गर्दै नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । काँग्रेसले पनि हलो क्रान्ति र मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको उनको भनाइ थियो । उनले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र शहरमा जनसङ्ख्याको चाप बढ्ने अनि गाउँ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए । वरिष्ठ नेता पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताउँदै महाकाली सन्धिका बारेमा प्रश्न उठेको सम्बन्धमा त्यसमा कुनै राष्ट्रघात नभएको स्पष्ट पारे । उनले महाकाली सन्धिमा महाकाली नदीलाई अधिकांश सीमा भनेर राष्ट्रघात भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदीमात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनी प्रश्न गरे । उनले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताउँदै महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको र पार्टी ‘भिजन’ एवं ‘मिसन’ सहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । रासस
सरकार ! लासमाथि राजनीति नगर्नू है
सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निस्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ ।। सरकार न सर्वोच्चको आदेश मान्छ । न नागरिक जोगाउन कुनै पहल गर्छ । कमिसनको चक्करमा फसेको यसले हामी भूइँमान्छेलाई माञ आँखा तर्छ चुनावको बेला यसो नजिक सर्छ ।। यो देशमा सरकार रहेको अनुभूति हामी गरिब जनताले कहिले गर्न पाउने ? हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले हाम्रो मर्म किन बुझ्दैन ?।। भोक भोकै सडक कति दिन नापिएला ? स्वार्थी सहरले त हामीलाई केही दिन पनि पाल्न सक्दो रहेनछ, सहरको रहर पाल्नु त बेकार रहेछ हामीले ।। बाँचे न रोगको डर हो रोग भन्दा पनि भोक विकराल बनेर देखिँदै छ हाम्रा लागि कानमा तेल हालेर सुतेको सरकारी संयन्त्र कतै भए सुनाइदिनुहोस् न हजुर ।। लकडाउनका लागि लगाइएको बार पार गर्न लाग्दा काका लडेर मरे अरे । रोग या भोक सबैले हामीलाई नै लखेट्ने त रहेछ । सरकार के रोगबाट बचाएर भोकको लास हेर्न चाहन्छ ? विपत्तिमा काम नलाग्ने जनताको पसिना, रगत चुस्ने महङ्गो यत्रा सरकारी संयन्त्र के का लागि ? जन्मथलोमा नपुग्दै देह ढलेछ भने सरकार ! हाम्रै लासमाथि फोहोरी राजनीति नगर्नू है ।। (यो कविता अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) तारकेश्वर गाउँपालिका–१, नुवाकोट हाल पोखरा–११ [email protected]