कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सम्झाउँदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, “प्रत्येक व्यापारीले आफ्नो पसल उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता कुरालाई सुझाइएको छ ।” त्यसैगरी अनावश्यक मानिसको भीडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्ति मात्रै घर बाहिर निस्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुई व्यक्तिबाहेक अरुलाई सवार नगर्नेजस्ता कुरा सुझाइएको छ । सुझाइएका कुरा सबै बेवास्ता गरी कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई सङ्क्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिइएको छ । रासस
जिनएयरले ३० जुनमा पहिलोपटक काठमाडौंमा उडान गर्ने तयारी
सियाेल । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौं–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ । जिनएयरको चार्टर्ड उडानका लागि सियाेलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ । उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन् । जिनएयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ । यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौं–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले १ हजार २ सय ५० अमेरिकी डलर तिरेका थिए तर जिनएयरमा ७ सय ५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ भने कोरियाबाट नेपाल फर्किने यात्रुले ७ सय अमेरिकी डलर मात्र तिरे पुग्नेछ । जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १.३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ । साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ । जिनएयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको समेत बताइएको छ । कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका ४ हजार ५ सय युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका १ हजार ५ सयबढी यात्रु पनि नेपालमै अड्किएका छन् । रासस
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो । छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ । सो टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो । यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए । रासस