टोखाको बजेट १ अर्ब ५८ करोड ४१ लाख

काठमाडाैं । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ५८ करोड ४१ लख ७७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगततर्फ १ अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो । टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि ३ करोड, शिक्षाका लागि १ करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि  ३० लाख रूपैयाँ रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि २ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।   रासस

भारतीय तन्नामा पल्टेर नेपालको हित सोच्दा

मलाई सम्झना छ, २०५५/५६ सालतिरको कुरा हुनु पर्छ । भारतका एक जना चर्चित सिने कलाकारले नेपाली मानिस मन पर्दैन भनेर एक इन्डियन पत्रकारसँग भने भन्ने हल्ला फैलियो । यस्तो हल्ला फैलिने वित्तिकै नेपालमा तिब्र प्रतिक्रिया उत्पन्न भयो । सोही कारण काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा स्वतस्फूर्त रुपमा सर्वसाधारण सडकमा आए । र, सडकमा आएको त्यो अनियन्त्रित र नेतृत्वविहिन भिडले गरेको तोडफोडसहितको हर्कत सभ्य समाजको लागि ग्लानीको विषय थियो । एक जना भारतीय सिने कलाकारले नेपाली मन पर्दैन भनेर अभिव्यक्ति दिए भन्ने हल्लाका बीचमा जम्मा भएको भिडले काठमाडौं उपत्यकामा मधेशी समुदायको बढी जमघट हुने गौशाला, मैतिदेवी, चावहिल जस्ता क्षेत्रमा नेपालीले नेपालीलाई नै कुटे । यो प्रकरणमा दुई जनाको ज्यान पनि गयो । त्यो समयमा मधेशी मुलका नेपालीमाथि आक्रमण हुनुको मुख्य कारण मधेशी मुलका नेपालीलाई नेपाली हुन् भन्न नसक्नु र मधेशी समुदायले पनि बेग्लै अनुहार भएकालाई संकिर्ण सोचले हेर्नु नै हो । यस्ता, विषयमा रुमल्लिइरहनुले राजनैतिक अस्थिरता मात्र होइन, आज नेपालको आर्थिक विकासमा ठूलो बाधा पुर्याइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालको संसदमा उभिएर दुईचार वाक्य नेपाली भाषामा बोलिदिँदा फुरुक्क पर्ने र भारतको जयजयकार गर्छाैं हामी नेपाली । अनि एक भारतीय कलाकारले नेपाली मन पर्दैन भन्दा हामी आफ्नै दाजुभाइ मार्न तयार हुन्छौं । हामी छालाको रंग र अनुहारको बनोटलाई आधार मानेर यो नेपाली हो, यो होइन भन्ने निष्कर्ष निकाल्छौं । छालाको रंग र अनुहारको बनोटलाई नै आधार मानेर यो आफ्नो, यो पराया भन्ने निक्र्याेलमा पुग्ने हामी नेपाली नै हो । यही निष्कर्ष नै हाम्रो राष्ट्रिय एकताको अवरोध भइरहेको छ । देशको पहिचान अनुहारको रङ्गले कदापि गर्न सक्दैन । भाषा बोलिएकै भरमा उसको पहिचान कुनै देशसँग जोड्नु कदापि न्याय संगत हुँदैन । देशको रास्ट्रिय भाषा हुन सक्दछ । तर व्यक्ति आफूआफूमा कुन भाषाको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिगत कुरा हो । भाषा भन्नाले एउटाको कुरा अर्कोले वुझोस् भनेर बोलिने माध्यम हो । चाहे कोही, नेवारी, तामाङ्ग भाषा बोलुन्, शेर्पा, नेपाली, मैथिली, भोजपुरी, हिन्दी वा अरु जुनकुनै भाषा नै किन नबोलुन्, त्यसमा आपत्ति जनाउनु पर्ने केही कारण छैन । हामी उठ्ने वित्तिकै भारतमा बनेको टुथपेस्ट र ब्रस प्रयोग गर्छौं । नुहाउँदा भारतीय सावुन, टिभी हेर्दा भारतीय च्यानल, मोटरसाइकल, कपडा धेरै त भारतीय नै हुन्छन् । यहाँसम्म कि ओछ्यानको तन्ना पनि भारतीय नै हुन्छ । रोड उसैले बनाइदेओस् भन्छौं । घर बनाउने मानिस उतैतिरको होस् भन्छौं । आफ्नो बारी बाँझै राखेर उसैले तरकारी दैलोमा ल्याएर बेचोस् भन्छौं । हामी फोहोर गर्छौं, सफा उसैले गरोस् भन्छौं । नेपाली भएर नेपाली चलचित्र हेर्दैनौं । नेपाली वस्तुको प्रयोग गर्न हिचकिचाउँछौं । आर्थिक उन्नति र आत्मनिर्भरतिर कहिल्यै सोच्दैनौं । के जीवनयापनका लागि हामीले बिहानैदेखि वेलुकासम्म प्रयोग गर्ने गरेका साधनहरु हामी आफैंले निर्माण गरेका हौं त ? हामी कति परनिर्भर भएका छौं ? सबै कुरामा विदेशमाथि भर परेपछि आउने परिस्थिति यस्तै हो, जुन अहिले हामी भोगिरहेका छौं । सबै कुराको आयात नै गरेका छौं । हामी अल्छी छौं । धनियाँको दुईटा पात, अलिकति तरकारी, आफ्नै करेसा बारीमा रोप्न हिचकिचाउँछौं । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा हामी व्यस्त छौं । दिनभरी टिभी हेर्दै फुसर्द छैन । गफ चुट्न व्यस्त छौं । अनि तातो घाममा जोखिम मोलेर काम गरिरहेको मानिसलाई, टिना, फलाम र तरकारी बेच्दै आउने एक सोझो तराइको नेपालीलाई जिस्क्याउँदै हेयको दृष्टिकोणले बार्दलीबाट ‘भैया’ भन्दा कति दुख्दो हो उसको मन् । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिबाट पास भएर प्रतिनिधिसभामा पेश भएपछि यो विषयले फेरि राम्रो चर्चा पाएको छ । देश भनेको भुगोल मात्र होइन । देशभित्र बस्ने सबै नागरिकको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानको संयुक्त रुप पनि हो । एक नागरिकले अर्काे नागरिकलाई हेपेर देश बलियो हुँदैन । देश बलियो हुन नागरिकबीच सम्मान र सहअस्तित्वको भावना जाग्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा भनेको देश आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ, अर्थतन्त्र बलियो हुनुपर्छ । [email protected]

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । हाल उक्त क्वारेन्टाइनमा चार जना बाँकी छन् । “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।” तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।   रासस