सम्झनामा असार पन्ध्र

गजल १  तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो । मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ? मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीको नपाइने समयको निर्मम छल थियो ।। लेखक गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति पोको पार्न मखमली तिम्रै सल थियो ।। सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ समस्याको हलमा रमाइलो छलफल थियो ।। गजल २ असार पन्ध्र सँगै हिलो खेलेको सम्झन्छु खाजा खान सँगै रोटी बेलेको सम्झन्छु ।। सुख दुःख जीवन यस्तै भनी मन बुझाउँदै घाम, पानी हुरीसँगै झेलेको सम्झन्छ ।। मेला जाने बेला बाइक स्टार्ट नभएर दुबै मिलि वर्कसपसम्म ठेलेको सम्झन्छु ।। मनका धनी परिश्रमी, लगनशील हामी तर साहुले गरिब भन्दै पेलेको सम्झन्छु ।। घाम–पानीले लुकामारी गथ्र्यो घरिघरि घाममा आँगनभरी मकै रेलेको सम्झन्छु ।।   दाङसिङ,नुवाकोट हाल पोखरा–११ [email protected]

कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

काठमाडाैं ।  महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा) को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैदीबन्दीको गुनासो छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दी (थुनुवा)को बिजोग हुने गरेको छ । खासमा कैदी–थुनुवा कक्ष गहिरिँदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर खाने, बस्ने र सुत्ने समस्या बढेको कारागारका चौकीदारसमेत रहेका पुराना कैदी रमेश सिंह बताए । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ । “साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५५१ कैदी–थुनुवा छौं”, चौकीदार सिंहले भने, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा बस्न, खान, सुत्न राम्ररी पाएका छैनौं ।” अहिले सघन वर्षा शुरु भएपछि जताततै फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदी–थुनुवा बताउँछन् । कारागार परिसरबाहिर अग्लाअग्ला संरचना ९घर, सडक० बनिँदा बर्सेनि यो ठाउँ झनझन गहिरिँदै गएको छ । फोहर निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठ बताए । जम्मा १३५ कैदी–थुनुवा राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५ सय ५१ जना छन् । साँघुरो ठाउँमा कैदी–थुनुवा थपिँदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको निमित्त कारागार प्रमुख महासेठको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ‘ठाउँ छैन, कारागार अस्तव्यस्त छ’ भन्ने गर्छौं”, महासेठले लाचारी व्यक्त गर्दै भने, “न्यायिक निकाय भने दिनहुँ कैदी र थुनुवा पठाउँछन्, हामी के गरौं ?” कारागारको पुरुष कक्षमा अहिले ५ सय १ र महिला कक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० जनासमेत जम्मा ५ सय ५१ कैदी–थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदी–थुनुवा राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको निमित्त कारागार प्रमुख महासेठको भनाइ छ । छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदी–थुनुवा रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको निमित्त कारागार प्रमुख महासेठ बताए । कारागारमा अहिले पनि ७० प्रतिशत त थुनुवा नै रहेका छन् । मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३० प्रतिशतमात्र रहेको महासेठको भनाइ छ । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मतसम्भार पाएको छैन । कैदी–थुनुवा कक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् । “हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिला कक्षकी एक थुनुवाले विरक्तिँदै भने, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।” यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घ सङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् । “कारागार यातनागृह नभई सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भने, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनै पर्छ ।” भर्खरै कारागारको निरीक्षण अनुगमन गरेकाे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको बताए ।   रासस

असार १५: राष्ट्रिय धान दिवस, दही च्युरा खाने दिन

काठमाडौं । असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाएर मनाइदैंछ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिंदैछ । कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम गरेर असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिनेछ । पहिलै देखि असार १५लाई दही च्युरा पर्वको रुपमा लिने गरिएको छ । खेतीपाती तथा आफ्नो पेशा र व्यवसायमा लागेका नेपालीले असार १५ दही च्यूरा खाएर मनाउँछन् । छिटो मनसुन सुरु भएसँगै यसवर्ष हालसम्म करिब २५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान उत्पादन हुन्छ ।