२ महिलासहित ६ जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट ४७ हजार १ सय र तास बरामद भएको छ । प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो ।  रासस

भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

काराकास । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २ सय ७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिए । यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् । भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो । त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ ।   रासस–एएनआई

वायुसेवा निगम पर्यटन विकासमा महत्वपूर्ण आधार

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ ९सन् १९५८ जुलाई १० अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई १ तारिखका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ । नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि हो । आफ्नो स्थापनादेखि अविछिन्नरूपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा व्यावसायिक दायित्व निर्वाहको गर्विलो इतिहास कायम गरेको निगम नेपालको पर्यटन प्रवद्र्धनको आधिकारिक संवाहक हो । निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ । हाल कोभिड–१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । बन्दाबन्दीमा नेपाली एयरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ । चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ । कोभिडको महामारी पहिलोपटक देखिएको चीनको वुहानमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउनेदेखि सरकारसँगको समन्वयमा स्वास्थ्य सामग्री ढुवानी गर्न कार्गो चार्टर्ड उडान गरेको छ । निगमले अष्ट्रेलियामा रहेका नेपालीको उद्धारका निम्ति आफ्नो उडान इतिहासकै अधिकतम लामो दूरीको ऐतिहासिक १२ देखि १३ घण्टा लामो उडान गरेको थियो । यसै अवधिमा निगमले आफ्नो उपस्थिति नभएका थप १४ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका ब्राजिल, अष्ट्रेलिया, माल्दिभ्स, हङकङ र जापानलगायतका नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा उद्धार गरी २८ भन्दा बढी उडानमार्फत सम्बन्धित मुलुक फर्काइएको निगमले जनाएको छ । अहिले निगमले विभिन्न २५ मुलुकमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण रूपमा चार्टर्ड उडान सञ्चालन गरिरहेको छ । निगमले हाल भारतका तीनसहित नौ गन्तव्यमा उडान भर्दै आएको छ । सन् १९६० मा अमेरिकी सहायताअन्तर्गत तीनवटा डिसी–३ डकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले आफ्नो ६२ वर्षे उडान इतिहासमा पछिल्लोपटक सन् २०१८ मा दुई वाइडबडी ए–३३० जहाजमार्फत सेवा दिइरहेको छ । निगमले सन् २०१५ मा दुई न्यारोबडी ए–३२० जहाज भित्र्याएको थियो । चीनका विभिन्न शहरसहित अन्य लामा गन्तव्यमा व्यावसायिक उडान भर्ने प्रयोजनका निम्ति निगमले आवश्यक तयारी गरिरहेको छ ।  रासस