कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले लगायाे सार्वजनिक यातायातमा प्रतिबन्ध

बेइजिङ  । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ । ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १ सय ७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।रासस

१० रुपैयाँ दिएर सुस्तमनस्थिति बालिकालाई जवरजस्ती करणी गर्ने खड्का जेल चलान

काठमाडाैं । चार वर्ष अगाडि १५ वर्षिय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयाँ दिएर जबरजस्ती करणी गर्ने ओखलढुङगाका पूर्ण बहादुर खड्का जेल चलान भएका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले बिहिबार भक्तपुरको सुर्यबिनायकबाट प्रक्रउ गरी भक्तपुर जिल्ला अदालतमार्फत डिल्ली बजार कारागार चलान गरिएको हो। उच्च अदालत पाटनको उनलाई वि.स २०७५ कात्तिकमा २ वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो । तर, उनी फरार रहेका थिए । वि.स २०७१ फागुनमा उनले १५ बर्षीय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैया दिई ललाई फकाई अनुचित प्रभावमा पारी घरमा कोही नभएको मौका पारी जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ६ सिपाडोल स्थित आफ्नै घरको कोठामा लगीजबरजस्ती करणी गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो। मा मुद्धा दर्ता गरेको थियो ।

आजदेखि बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

हेटाैंडा । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरे । साताव्यापी कार्यक्रमअन्तर्गत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो । पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो । बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।