अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए । उनले छ ओभर बलिङ गर्ने क्रममा एक मेडन राखी १६ रन खर्चिए । यस्तै सुशन भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चेर चार विकेट लिए ।  करन केसीले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर १३ रन दिए । उनी विकेटविहीन रहे । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत राम्रो रहेन । रन नै बनाउन नसकेको अवस्थामा उसले पहिलो विकेट गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अमेरिकाका भरपर्दा प्रारम्भिक ब्याट्सम्यान इयान होल्यान्ड रन नबनाईकन पभेलियन फर्किए । उनलाई लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्काद्वारा क्याच आउट गराए । उनले मेडन ओभर फाल्दै पहिलो विकेट लिएका हुन् । अमेरिकाले टोलीको स्कोर २३ छँदा दोस्रो महत्वपूर्ण विकेट गुमायो । छ दशमलव एक ओभरमा प्रारम्भिक ब्याट्सम्यान जेभियर मार्शल आउट भए । सोह्र रन बनाएका उनलाई सुशन भारीले पारसद्वारा नै क्याच आउट गराए । आठौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । दुवै विकेट सन्दीपले लिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाङ्क पटेललाई सन्दीपले सात दशमलब दुई ओभरमा बोल्ड गरे । उनले चार रनमात्र बनाए । सात दशमलब पाँच ओभरमा सन्दीपले निसर्ग पटेललाई व्यक्तिगत दुई रन बनाएको अवस्थामा बोल्ड गरे । यत्तिमा नै अमेरिकाको विकेट गुमाउने क्रम रोकिएन । अमेरिकाले नवौँ ओभरको तेस्रो बलमा आरेन जोन्सलाई गुमायो । उनलाई व्यक्तिगत चार रनको स्कोरमा सुशनले बोल्ड गरे । त्यो बेला अमेरिकाले २९ रनमात्र बनाएको थियो । यस्तै १०औँ ओभरको पाँचौँ बलमा अमेरिकाका तिमिल पटेल पभेलियन फर्किए । तिमिलले व्यक्तिगत एक रनमात्र बनाए । उनलाई सन्दीपले आउट गरे । एघारौँ ओभरमा अमेरिकाले लगातार दुई विकेट गुमायो । सुशनले ११औँ ओभरको पहिलो बलमा केमरुन स्टिभेन्सनलाई पभेलियन फर्काए । सुशनले ११औँ ओभरको अन्तिम बलमा रुस्टी थेरन बोल्ड भए । अमेरिकाले ११ ओभर खेल्दा ३१ रनमा आठ खेलाडी गुमाइसकेको थियो । अमेरिकाले १२औँ ओभरमा सन्दीपको बलमा लगातार दुई विकेट गुमायो । सन्दीपले १२औँ ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसद्वारा नै क्याच आउट गराए । सन्दीपले १२औँ ओभरको अन्तिम बलमा नोस्तुस केन्जीलाई बोल्ड गरे । अमेरिका १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । रासस

पुस्तकालय पुनःनिर्माणका लागि मनकामना दर्शनकाे १० लाख सहयाेग

काठमाडौं । गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनःनिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् । त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो । भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन दुई तलाको ढलान सम्पन्न भैसकेको छ । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी सोमबारदेखि , १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदै

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । ‘कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा छन्’, अध्यक्ष रानाले भने, ‘कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।’ कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त ‘कुक’ बोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने देखिएको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ । यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीषबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख १० हजार, यमबहादुर श्रीषबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ । स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् । रासस