रुद्रमतीमा फोहर फाल्नेबाट २३ हजार रूपैयाँ जरिवाना

काठमाडाैं । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट २३ हजार रूपैयाँ जरिवाना गराएको छ । काठमाडौं महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारवाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिए । भिडियोमा फोहर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याउन सकिएको उनले सुनाए । “कानूनी व्यवस्थाअनुसार जरिवानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौं, एकपटकलाई जरिवानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहर नफाल्ने प्रतिबद्धतासहित फोहर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई १५ हजार रूपैयाँ जरिवाना गरिएको छ”, अभियानकर्मी गिरीले भने । महानगरपालिकाले रिक्साचालकलाई १ हजार रूपैयाँ, रिक्सा धनीलाई २ हजार रूपैयाँ, फोहोर फाल्नेलाई ५ हजार रूपैयाँगरी जम्मा २३ हजार रूपैयाँ जरिवाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले जानकारी दिए । फोहर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारवाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि जानकारी दिए । जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहर टिप्नु पर्नेछ । यसैगरी फोहर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । तीन दिन अघि फालेको फोहर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ । अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फाल्नेलाई कडाभन्दा बडा कारवाही गरिने भएकाले फोहरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ । उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ ।  रासस

बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

काठमाडाैं । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् । महासङ्घका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गरे । “बन्दाबन्दी अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ”, उनले भने । महासङ्घले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न मागसमेत गरेको छ । विसं २०७३ मा स्थापना भएको महासङ्घमा विभिन्न २० सङ्घ आबद्ध छन् भने झण्डै २५ हजार व्यवसायी आबद्ध रहेका छन् ।

बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो

मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् । बाह्रबिसे नगरपालिकी उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए । “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरे ।  रासस