निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण
काठमाडाैं । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरे । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गरे । विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दैै उहाँले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताए । सांसद एवं पूर्व मन्त्री बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने सपना पूरा हुने भएको बताएका छन् । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न खोज्दा चौतर्फीरूपमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उनले भँगेरीडाँडामा बन्न लागेको रङ्गशालाको समेत सांसद प्रेम सुवालले संसद्मै विरोध गरेको बताए । नेपाल सरकारले उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोहीअनुसार प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले उक्त स्थानमा खेलकूद तथा पर्यटनको महत्वपूर्ण उद्गमस्थलका रूपमा विकास गर्ने योजना बनिरहेकोसमेत जानकारी गराए । रङ्गशाला निर्माण सम्पन्न भएसँगै चाँगुनारायणको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रमा भक्तपुरले ठूलो फड्का मार्ने विश्वास व्यक्त गरिएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार उक्त क्षेत्रमा रङ्गशालाको निर्माण शुरु गरिएको सांसद बस्नेतले बताए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ । रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ । त्यस अवसरमा रङ्गशाला निर्माणको नेतृत्व लिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले रङ्गशाला निर्माणसँगै स्थानीय विकास, पर्यटन एवं कृषिको विकास, रोजगारीको व्यवस्थासँगै आर्थिक अवस्था वृद्धि हुने बताए । रासस
पाँच सय परिवार विस्थापित, नौ शव भेटिए
जाजरकाेट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । सिंहका अनुसार ५ सयभन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताए । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । नौको शव भेटियो बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन । घाइतेको उद्धार बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । विस्थापितलाई खाने छैन सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् । रासस
इरानले फेरि लकडाउन जोखिम लिन सक्दैन – रुहानी
काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरसको संक्रमण बढेसँगै पुन लकडाउन गर्दा अर्थतन्त्रमा असर पर्ने बताए । मुलुकमा कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको छ । यद्यपि देशले फेरि एकपटक लकडाउन गर्ने हो भने अर्थव्यवस्था नै लकहुने र सो जोखिम तिर लाग्न नसक्ने जनाएका छन् । अधिकारीहरुका अनुसार गएको चौबीस घण्टामा १ सय ८८ जनाको व्यक्तिको मृत्यु भएको छ भने २ हजार ३ सय ९७ जनामा थप कोरोना संक्रमण देखिएको छ । योसँगै इरानमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार नाघेको छ भने हालसम्म १२ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । इरानले पहिले नै अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका साथ संघर्ष गरिरहेको छ र कोरोना भाइरसको फैलावट रोक्नका लागि लगाइएको तालाबन्दी अप्रिलमा हटाइएको थियो । (बीबीसीकाे सहयाेग)