घरबेटीका कुरा कसले सुन्ने ?

काठमाडाैं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले विभिन्न पेशा व्यवसायमा आवद्धहरुले धेरै समस्या भइरहेको गुनासो गरिरहेका छन् । कोठाभाडामा बस्ने सर्वसाधरण नगरिकदेखि ठूलो उद्योगधन्दा व्यापार व्यवसाय गर्दै आएका मानिसहरु घरभाडा तिर्न, बैंकको ऋण तथा किस्ता तिर्न समस्या भइरहेको गुनासो गरिरहेका छन् । कोरोना भाइरसको त्रासले धेरै मानिसहरु भाडामै बस्दै आएको कोठा छोडेर अन्तै जान थालेका छन् भने व्यवसायीहरुले गर्दै आएको व्यवसाय बन्द नै छ । अहिले सबैले आफु बस्दै र भाडामा लिएर व्यवसाय गर्दै आएकाहरुले घरबेटीलाई भाडा छुटको माग गरिरहेका छन् । लकडाउनको कारण सबै क्षेत्र समस्यामा परिरहेको बेला सबैले घरबेटीलाई भाडा छुट गर्न आग्रह गरिरहेका छन् भने स्यवयं सरकारले पनि घरबेटीहरुलाई भाडामा बस्नेलाई घरभाडा छुट गर्न भनिरहेको छ । चौतर्फि रुपमा भाडा तिर्न नसकेर समस्या भइरहेका समाचारहरु बाहिरिए पनि घरबेटीको समस्या र उनीहरुले भोग्नु परेको चुनौतीहरु भने न कसैको प्राथमिकतामा परेका छन् नत बोल्ने प्रयास नै गरेका छन् । तर, काठमाडौंमै यतिखेर धेरै घरबेटी समस्यामा परेका छन् । भाडामै बस्नेहरुबाट आएको पैसाले आफ्नो रोजीरोटी चलाउनेहरु अहिले ठूलो समस्यामा परेका हुन् । भाडमा बस्नेहरु कोठा छोडेर अन्तै अर्थात आफ्नै घर गएपछि र कतिले लकडाउन भन्दै भाडा नै नदिएपछि घरबेटी पनि अहिले समस्यामा परेका छन् । यस्तै समस्या अहिले काठमाडौं मैतिदेवीका उमरेश यादवलाई परेको छ । घरुमा भाडामा बस्दै आएका अरुको पैसाबाट जिविका चलाउने अमरेशका घरमा भाडामा बस्नेहरु अहिले घर गएपछि उनको भाडा आउन रोकिएको छ । लकडाउन भएको पनि तीन महिना बितिसक्दा पनि उनले भाडा पाएका छैनन् । उनको घरमा धेरै जसो विद्यार्थीहरु बस्छन् । अहिले शैक्षिक संस्थाहरु बन्द हुँदा सबै विद्यार्थीहरु घर गएका छन् । उनले उनीहरुबाट भाडा पनि पाएका छैनन् । ‘मैले भाडाबाट आएको पैसाले नै जिविका चलाउने हो, भाडा नपाएको अब ४ महिना बित्न लाग्यो, भाडामा बस्नेलाई फोन गरेपनि आएपछि दिन्छौं भन्छन्, पैसा आउने अन्य कुनै स्रोत पनि छैन,’ उनले भने । १५ वर्ष अगाडि उनले तराईको जग्गा बेचेर काठमाडौंमा घर लगाएका थिए । अन्य कुनै आम्दानीको स्रोत नभएका उनी ६ जनाको परिवार कोठा भाडाबाट नै चलाइरहेका छन् । मासिक ३०÷४० हजार रुपैयाँ भाडा पाइरहेका उनको करिब डेढ लाख रुपैयाँ भाडा उठेको छैन । उनी भन्छन्, ‘सरकारले भाडामा बसेकालाई भाडा छुट देउ भन्छ, हामीले भाडा नपाएको पनि ४ महिना भइसक्योे, कसरी छुट दिने ?’ यस्तै, सोही ठाउँका बस्दै आएका रत्न चालिसेको समस्या पनि त्यस्तै छ । ७ वटा कोठा भाडामा दिँएर जिविकापार्जन गर्दै आएका उनको घर आजभोली खाली छ । देशमा चैत ११ गते लकडाउन भएपछि उनको घरमा भाडामा बस्दै आएकाहरु गाउँ गइसकेका छन् । बाँकी रहेकाहरु पनि भाडा छुट हुनु पर्छ भन्दै आएको उनले बताए । मासिक ५०/६० हजार भाडा माउँदै आएका चालिसे अहिले २०/३० हजार भाडा पाउनु पर्ने भएपनि त्यही पनि नपाएको गुनासो गर्छन् । लकडाउनपछि गाउँमा घर हुने गाउँ नै गए । व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि भाडा तिर्न सकेका छैनन् । जसको मारमा भाडाबाट जिविकोपार्जन गर्नेहरु परेका छन् । भाडा देउ भन्दा पनि भाडामा बस्नेले अनेक समस्या देखाएर भाडा नदिने गरेको उनीहरुको भनाई छ । काठमाडौं महानगरपालिकाले भाडा छुट दिने घरबेटीलाई एक महिनाको सम्पत्ति करमा केही छुट गर्ने घोषणा गरिसकेको छ । तर, पनि घरबेटीहरुले त्यसको कार्यान्वयन गर्न सकेका छैनन् । मासिक पाउँदै आएको रकम पनि केही घटेर आउँदा र त्यसैमा छुट पनि दिन नसकिने उनीहरुको तर्क छ । घरबेटीहरुले भाडामा बस्नेबेला भाडावालहरुसँग सम्झौता नगर्नाले पनि भाडा दिन सकिँदैन भन्दा चुपचाप लाग्नु बाहेकको बिकल्प नरहेको उनीहरुको भनाई छ । महानगर पालिकाले भने अनिवार्य रूपमा भाडामा बस्नेले लिखित सम्झौता गरी त्यसको छायाप्रति वडामा दर्ता गराउन पहिले नै भनिसकेको छ । तर, त्यसको कार्यान्वयन नहुँदा बेलाबेला धेरै घरबेटीहशरु समस्यामा पर्ने गरेको महानगरका एक अधिकारी बताउँछन् ।

तनहुँकाे पहिरो अपडेट: ६ को मृत्यु, ५ बेपत्ता

दमौली । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ । सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ ।   रासस

चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति

बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो ।चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । चीनको याङ्चेसहितका कैयौं नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ । बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरे ।  रासस/एएनआई