दीपाश्रीलाई माफि दिन राजेश हमालले गरे दर्शकसँग आग्रह

काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक संजालमा गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन हमालले अपिल गरेका छन् । उनले करिब ९ मिनेट लामो भिडियोमा दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन भनेका छन् । कोरोनाको महामारीसँगै नेपालको राजनिति तथा सामाजिक एवं कला क्षेत्रमा पनि टिकाटिप्पणी भइरहेको जानकारी दिँदै आफूलाई सहकर्मी साथीले सार्वजनिक मञ्जमा भनेका कुराप्रति दर्शकको प्रतिक्रिया मात्र नभई आक्रोसलाई ध्यानमा राख्दै आफ्ना कुरा राखेका हुन् । दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ? भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन । र्हेनुहोस् भिडियो फेसबुक लाइभमा नायक राजेश हमालले राखेका कुराहरू   

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् । श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते गिरफ्तार गरिएको थियो । श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको भनीे पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पिडीत बालिका छ महिनाको गर्भ रहेको पाइएको छ । यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् ।    रासस

वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा ४ पाकिस्तानी सैनिकको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा ती सैनिक मारिएको पाकिस्तान सरकारले जनाएको छ । सोमबार ती सैनिक मारिएको बताइएको हो । सो कारबाहीका क्रममा कम्तीमा पनि चार जना पाकिस्तानी सैनिक मारिएका छन्, पाकिस्तानी सेनाको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानको एक दैनिक पत्रिका डनले जनाएको छ । पाकिस्तानी सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा उत्तरी वाजिरिस्तानमा आतंकवादीहरुलाई खोजी गएको सेनामाथि लुकेर बसेका आतंकवादीहरुले हमला गरेका थिए । पाकिस्तानी सेनाले त्यसको जवाफी फायर गरेको र सेनातर्फ चार जनाको ज्यान गएको पाकिस्तानका सैनिक अधिकारीले जनाएका छन् । गत महिनामा पनि सोही क्षेत्रमा पाकिस्तानी सेनाका दुई जना सदस्यको यसैगरी ज्यान गएको थियो । तर यस आक्रमणका विषयमा कुनै पनि आतंकवादी संगठनले भने केही बताएको छैन । रासस/एएनआई