कैलालीमा खैरो हिरोइनसहित दुई पक्राउ

कैलाली । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०।६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए । उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।  रासस

अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

काठमाडाैं । अर्घाखाँचीको क्वारेन्टाइनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । गतजेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् । स्वाब संकलन गरी पठाए । उनले आत्महत्या गर्नुको कारण भने खुलेकाे छैन् ।

बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरे । वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।   रासस