पञ्चकन्या समुहमा कार्यरत कर्मचारीद्वारा एक सय २० जनालाई राहत
काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो । लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् । टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजी चामल, ५ केजी आटा, ५ केजी आलु, २ केजी चिउरा, २ केजी दाल, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।
राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय
काठमाडौं । दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् । कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।” वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?” अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।” उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस
आमा भेट्न नपाएका विककाे गुनासाे- अँगालो मारेर बेस्सरी रुने मन छ
‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।’ उनले रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका-९ प्रतापपुरका राज विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन । ‘लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो’, विकले भने, ‘अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उहाँहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।’ क्वारेन्टाइनमै परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको आत्मविश्वास अझै बढ्यो । ‘मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उहाँहरू मेरा भगवान् भएर आउनुभएको छ । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।’ दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उनले पहिलो पटक आमाबुबालाई सम्झिए । ‘एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।’ उनलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनले बताए । अस्पताल बसाइका क्रममा उनले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् । ‘अहिले घर आएको छु । अलग्गै बसिरहेको छु । चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन । चिकित्सकको समयसीमा सकिएको पहिलो दिन आमालाई अँगालो मारेर बेस्सरी रुने मन छ’, उनले भने । उनी सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा थिइन् । आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उनको विश्वास छ । छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताइन् । संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उनलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उहाँका आँखाबाट खुशीका आँशु झरे । ‘छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।’ भारतको मुम्बईबाट गत चैत ११ गते आएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई यही वैशाख ७ गते सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो । रासस