विपन्न कोरोना सङ्क्रमितकाे लागि सानेपामा ‘अक्सिजन बैंक’ स्थापना

काठमाडा‌ैं । आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गरेका हुज् । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् । लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउँछन् । “घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ”, उनी भन्छन् । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ । अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ । यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उनले बताए । लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउँछन् । अक्सिजन बैंकका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउँछन् । तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ ।

बूढानीलकण्ठमा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए । समितिले नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।

नवलपरासीमा भदौ ६ गतेसम्म निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन । जिल्लामा कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएको र थप सङ्क्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिँड्डुल गर्नसमेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । यता एउटा स्थानीय तहबाट अर्को स्थानीयमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लास्थित बढी भीडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ । यस जिल्लामा पछिल्लोपटक समुदायमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि जोखिम ह्वात्तै बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३० पुगेको छ । रासस