दैनिक उपभोग्य वस्तु अभावमा भुल्के गाउँको जनजीवन कष्टकर बन्दै
काठमाडौं । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ । गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने, “ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।” स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनले भने, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ” आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताए । “खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौं। ” गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरे सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । रासस
पैदलै थातथलो फर्किने क्रम बढ्दै
काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौँबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए । “लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र रु”, उनले भने । यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौँ बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौँमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए । यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए । रासस
जनप्रतिनिधिहरुको सक्रियता पछि फर्किन थाले मकवानपुरका मजदुर घर
काठमाडौं । लकडाउनको कारणले काठमाडौं र पोखरामा अलपत्र परेकाहरु मकवानपुर फर्किन थालेका छन् । संभिर सांसद र स्थानिय तहको सक्रियता पछि मकवानपुरका नागरिकहरु जिल्ला फर्किन थालेका हुन । मकवानपुरका संघिय सांसद कृष्ण प्रासद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, प्रदेश सांसद प्रेम पुलामी, इन्द्रबादुर बानिया तथा गाउँपालिका र वडासगँको संयोजनमा मकवानपुका नागरिकहरुलाई देशैभरबाट उद्धार सुरु भएको छ । काठमाडौंमा अलपत्र परेकाहरुका लागि पुरानो नारायणी यातायात कम्पनी प्रालि र नयाँ नारायणी यातायात कम्पनी प्रालिको सहयोगमा बस व्यवस्थापन गरि उद्धार भइरहेको हो । पुरानो नारायणी यातायात कम्पनी प्रालिका सचिव ठाकुरनाथ सुवेदीले कम्पनीले बसको व्यवस्थापन गरि लकडाउनको कारणले काठमाडौंमा रहेकाहरुलाई जिल्ला ल्याउन थालिएको बताए । उनले भने २० वटा बस मार्फत उद्धार मकवानपुर जिल्लाकालाई ल्याएको जानकारी दिए । मकवानपुरको कैलाश गाउँपालिकामा रहेकाहरुलाई दश वटा बस मार्फत काठमाडौंमा ज्वरो जाँच गर्ने, मास्क, ग्लोव्स र स्यानीटाइजरको प्रयोग गरेपछी मात्र बसमा राखेर मजदुरी गर्दै आएका नागरिकलाई ल्याउन लागिएको हो ।