वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा
काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन् । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ । हामीले त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ-यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड । अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण काठमाडौं अडिशनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो । पहिले तय गरिएको फम्र्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो । प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।
भूकम्पले काठमाडाैं हल्लायाे
काठमाडाैं । काठमाडौं उपत्यकामा भर्खरै मात्र भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५ रेक्टरको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो । गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको थियो ।
सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।