क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता
दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै मृत्यु भइसकेको छ । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ । अहिलेसम्म संक्रमित ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए । कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको कारण बताइएको छ । त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने कामभन्दा नि व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ । उपचारमा चुनौती कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ । चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिए । तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । भारतबाट आएका अधिकांश व्यक्तिलाई नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् । खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय महाबुमा आएको अध्यक्ष शाहीले बताए । शुरुआतमा १ सय ५० क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ । त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् । विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताए । प्रदेश सरकारले गाउँपालिकामा १५ लाख पठाएको छ । गाउँपालिकाको ५० लाख विपत् कोषको रकमसमेत सकिएको छ । दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर काम गर्नुपरेको शाहीले बताए । रातदिन नभनेर ६० स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका कर्मचारी खटिएका छन् । प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । भारतबाट भित्रिएका नागरिकलाई छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाए । पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश जीप प्रयोग गरिएको छ । मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ । जाँच गर्ने स्रोत र साधन अभाव भएको र प मानिस विनाजाँच पालिकामा भित्रिएकाले जोखिम बढ्नाका साथै व्यवस्थापनमा चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए । पालिकाकामा ५ सय ९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिए । ३० प्रतिशतलाई मात्र खाद्यान्न गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ । अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए ।
चर्चित भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका
काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९ को टेस्ट रिपोर्ट आइसकेको छैन । उनको परिवारले बताए अनुसार वाजिद खान किड्नीको विरामी थिए र दुई वर्ष अघि ट्रान्सप्लान्ट भएको थियो । केहि समय अघि घाँटीमा इन्फेक्सन भएपछि उनलाई चेंबुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । एक हप्ता अघि मात्र वाजिद खानको ‘भाई–भाई’ गीत रिलिज भएको थियो । जसमा सलमान खानको आवाज र अभिनय रहेको छ । उनको मृत्युसँगै सिंगो वलिउड इण्डस्ट्री शोकमा डुवेको छ भने विभिन्न गायक तथा कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ
काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएसँगै सो ठाउँहरुको जग्गाको मूल्यपनि निर्धारण भएको छ । शहर विकास भइसकेपछि अर्कै मूल्य कायम हुने भएपनि डीपीआरमा हालको बजारको अवस्थालाई मध्येनजर गर्दै जग्गाको मूल्य तोकिएको हो । बढ्दो अव्यवस्थित शहरीकरण र जनसंख्याको चापलाई मध्येजर गर्दै निर्माण हुने भनिएका चार शहर भौतिक पूर्वाधारले भरिपूर्ण र सुविधा सम्पन्न हुनेछन् । ती चारै शहरमा बस्ने नागरिकहरु सेवा सुविधा उपभोग गर्ने भाग्यमानी नागरिकमा गनिनेछन् । हाल काठमाडौं उपत्यकामा बढ्दै गएको जनसंख्या, अव्यवस्थित शहरीकरण र दुर्गन्धित वातावरणले आजित नागरिक व्यवस्थित र सुविधा सम्पन्न शहरमा बस्न पाएपछि उत्तिकै खुसी पनि हुनेछन् । तर, यति हुँदा हुँदै पनि ती सुविधा सम्पन्न शहरहरुमा बस्नको लागि कति पैसा तिर्नु पर्ने हो ? जग्गाको मूल्य कति पर्छ भन्ने जिज्ञासा भने आम सर्वसाधारणमा व्याप्त छ । काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणको भनाई छ । सो भन्दा कमको कित्ताकाट गर्न नपाइने डीपीआरमा उल्लेख गरिएको छ । सो डीपीआरमा नागरिकले जग्गा खरिद गर्नु परे न्युनतम आठ आना जग्गा हुनै पर्ने उल्लेख गरिएको छ । प्राधिकरणले सो मापदण्ड उल्लेख गरेसँगै धेरै मानिसमा एउटा प्रश्न खडा भएको छ । आठ आनाभन्दा कम जग्गा भएका मानिसले के गर्ने ? आफुहरुले जग्गा छोड्नु पर्ने कि हो कि नपर्ने ? यस्ता विविधि प्रनहरु आम जनमानसबाट उठिरहेका छन् । तर, आठ आनाभन्दा कम जग्गा भएका जग्गा धनीहरुका लागि प्राधिभकरणले अर्को एउटा मापदण्ड तयार छ । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले आठ आनाभन्दा कम जग्गा भएकाहरुले जग्गा छोड्नु नपर्ने बताएका छन् । घरधनीहरुले भएको जग्गा छोड्ने नभई न्युनतम आठ आना जमिन बनाउनको लागि आफुसँग भएको जमिनमा थप पैसा तिरेर आठ आना जग्गा बनाउन सकिने उनले स्पष्ट पारे । त्यसका लागि उनीहरुले शहर विकास भइसकेपछि बजारको मूल्य अनुसार जमिनको मूल्य तिर्नु पर्ने उनको भनाई छ । ‘घर–घरमा बाटो जोडिन्छ, जग्गा कम भएकोहरुका लागि उनीहरुले थप पैसा तिरेर थप जग्गा बनाउन सक्छन्,’ उनले भने । आठ आना जमिन पछि विकसित घडेरी फिर्ता आउँदाखेरि जग्गा थप्न नपारेस् भनेर न्युनतम आठ आना मात्र काट्न पाइन्छ भनेको उनको भनाई छ । अहिले डीपीआरमा जति मूल्य तोकिएको भएपनि शहरहरु विकसित भइसकेपछि जसलाई जति सेवा सुविधा हुन्छ त्यही आधारमा र ठाउँको प्रकृति हेरेर जग्गाको मूल्य पनि तोकिने उनले बताए । ‘हामीले अहिले डीपीआरमा हालको बजारको मूल्य तोकेका छौं, त्यसको वास्तविक मूल्य पछि बजारले बोल्नेछ,’ उनले भने । डीपीआरमा भएको मूल्य चारै शहर विकास भइसकेपछि त्यहाँको जग्गाको मूल्य तोकिने भएपनि अहिले प्राधिकरणले हालको बजारको मूल्य हेरेर नयाँ शहरको जमिनको मूल्य कायम गरेको छ । तिवारीका अनुसार हाल ती ठाउँमा मोटरबाटो भएको जमिनको एक आनाकोे २० लाख रुपैयाँ तोकिएको छ । मोटर बाटो भएको र मोटर बाटो भएको नजिकैको जग्गाको मूल्य महँगो नै भएको उनको भनाई छ । तर, मोटर बाटो नभएको जमिनको मूल्य भने अहिले पनि सस्तो नै छ । पछि योजनावद्ध रुपले गइसकेपछि सबैमा बाटो पुगाएर त्यहाँको जमिनको मूल्य पनि तोक्ने उनले बताए । त्यहाँको सेवा सुविधा बढेपछि जग्गाको मूल्य पनि आफै बढ्ने उनले बताए । शहर विकसित भइसकेपछि प्रति आनाको २६÷२७ लाख रुपैयाँ मूल्य पर्न सक्ने उनको भनाई छ । अहिले डीपीआरमा बाटो नभएको ठाउँमा आनाको ५/६ लाख रुपैयाँ रहेको छ, गोरेटो भएको जग्गामा ८९ लाख रुपैयाँ कायम गरिएको छ, मोटर बाटो भएको जग्गा १६÷१७ लाख रुपैयाँ तोकिएको छ,’ उनले विकासन्युजसँग भने । जग्गाको मूल्य परियोजनाले बोल्नेभन्दा पनि बजारले बोल्ने उनको भनाई छ । जग्गाको मूल्य हामीले तोके पनि बजारले नियन्त्रण गर्ने स्पष्ट पारे । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिको २५ गते बस्ने बैठकले चारै शहरको डीपीआर स्वीकृत गर्ने उनले बताए । समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेश हुनेछ र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ । यस्तो बन्नेछन् नयाँ शहर नयाँ शहर भनेको नयाँ तथा आधुनिक शहर हो । जहाँ विभिन्न भौतिक पूर्वाधारदेखि सुविधा सम्पन्न संरचना हुनेछन् । ती शहरहरुमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकताका साथ निर्माण गरिनेछ । नयाँ शहरहरुमा व्यवस्थित सडक, यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, विद्यालय, खुला क्षेत्र, बैंक तथा वित्तिय संस्था, सार्वजनिक पार्क, स्वास्थ्य चौकी लगायत भौतिक संरचनाहरु योजनावद्ध किसिमले बन्नेछन् । अहिलेका जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई ती शहरमा भूमीगत गरिनेछ भने फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत हुनेछन् । त्यस्तै, विभिन्न हरियाली पार्क, चिल्ड्रेन पार्क, खेलाडीहरुका लागि खेल मैदानलगायत सुविधा सम्पन्न संरचनाहरु निर्माण गरिने छन् । याे पनि पढ्नुस्: चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने