सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको हो । बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

तरकारी लगाउन प्रयाेग गरिने टनेल नै क्वारेन्टिन

दैलेख । दैलेख जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ । सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले भने, “कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ ।” अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन् । कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन । जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताए । क्वारेन्टिनमा बसेकाले मैलाई छोइदिए : शाही प्रदेश सरकारले धमाधम जनता गाउँ पठाएर क्वारेन्टिनमा राख्न आदेश दिएकाले आफूहरुले बाध्य भएर काम गर्नुपरेको अध्यक्ष शाहीले बताए । “पालिकामा क्षमता कति छ भनेर कसैले मूल्याङ्कन गरेनन् । हामीले जसोतसो व्यवस्थापन गरेका थियौं । भारतबाट आएका दाजुभाइहरु दुःखसुख गरेर १४ दिनसम्म बसिदिएको भए राम्रै हुन्थ्यो । कतिपय क्वारेन्टिनमा बस्नेहरुको शैली पनि अराजक देखियो । मैले सबै जनतालाई सम्झाउँदै गएँ, एक अर्कासँग दूरी कायम गर्नुपर्दछ, कहीँ कतै कसैसँग छुनु हुुँदैन रोगको संक्रमण बढ्छ भनेर भन्दै थिएँ, एक जना आउनुभयो र मलाई छोइदिनुभयो अनि भन्नुभयाे, अब तपाईँलाई कोरोना सर्छ, मैले सारिदिएँ ।” यतिसम्मको मानसिकताले संक्रमण झनै फैलिन सक्ने अध्यक्ष शाहीले गुनासो गरे ।   रासस

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए । सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०र२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए । नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्याएको इन्चार्ज साउदले बताउनुभयो । यस घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।