प्रदेश नम्बर 2 को रौतहट मा पहिलो पल्ट फुटसल प्रतियोगिता सम्पन्न
रौतहट । हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर – ११ स्थित मैदानमा भएको फाइनलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १-१ गोल गरे। युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् । साथै उनले नगद १५०० नगद पुरस्कार हात पारे। उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पर्यो भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो। विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे । दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए । प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए भने कार्यक्रम को सन्चालन युवा समाजसेबि एन के शरद ले गरेका थिए ।
‘दशैंले त मन जोड्थ्यो, अहिले ती मनहरु टाढिए छन्’
बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए। आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए । रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैंले त मन जोड्थ्यो”, उनले भने, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।” भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैंमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताउछन् । “पहिले पहिले दशैंमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।” साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स-साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।” लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । रासस
सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने छ ।