जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

काठमाडाैं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ । मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ । पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कूल २ सय ७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ । उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ लाख ५० हजार बढी रहेका छन् । लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ । शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाको जोखिम रहेको समयमा अनावश्यकरुपमा गरिने प्रदर्शनले थप समस्या निम्त्याउँछ । उहाँले विपद्का समयमा सामाजिक दूरी कायम राख्न र अनावश्यकरुपमा प्रदर्शन नगर्नसमेत आग्रह गर्नुभयो । सरकारले आगामी असारको १५ गतेदेखि पिसिआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार बराबरको पुर्याउने तयारी गरेको छ । त्यसका लागि पिसिआर किट तथा मेशिनकोसमेत प्रबन्ध गरिरहेको छ । यस्तै निजी क्षेत्रको विद म्यानेजमेन्टले समेत थप २५ थान पिसिआर मेशिन एक सातामा भित्र्याउने तयारी गरेको छ । अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ । प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ । प्रवक्ता गौतमले भने, “नारा लगाउँदा कोरोना भाइरस एकैपटक धेरै निस्कने र सङ्क्रमणको मात्रा बढी हुन्छ, त्यसका कारण सामाजिक दूरी कायम गर्नु नै पहिलो आवश्यकता हो ।” उनले आज आयोजित पत्रकार सम्मेलनमा विशेष जोड दिएर भने, “भीडभाड जुलुस गर्दा सावधानी नपनाउँदा सङ्क्रमण बढ्छ ।” परिवारका एक सदस्यमा सङ्क्रमण भएका खण्डमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, बालबालिकालाई पनि बढी जोखिम हुनसक्छ । रोग सरेको खण्डमा त्यसले परिवार, समाज र राष्ट्रलाई पार्ने जोखिम असाध्यै ठूलो मूल्य चुकाउनुपर्ने हुन जान्छ । शहरी क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा बस्ती पूरै सिल गर्नुपर्ने र त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पर्ने जानकारी दिँदै प्रवक्ता डा गौतमले परिस्थितिलाई विशेष ख्याल गर्नसमेत आग्रह गरे । उनले सामाजिक दूरी कायम नगर्दा वा लापरवाही गर्दा निम्तने परिणाम भयावह हुने भएकाले अनावश्यकरुपमा भीडभाड नगर्न अनुरोध गर्दै विशेष सावधानी अपनाउन आग्रह गरे । कूल ७२ जिल्लामा फैलिएको सङ्क्रमणका कारण जनजीवन सामान्य बनाउन ठूलो मेहनत गर्नुपरेको छ । भीडभाड वा जुलुसका कारण अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी बढी सङ्क्रमति हुनसक्ने मन्त्रालयको भनाइ छ । “भीडभाड गर्दा त्यसले उत्पन्न गर्ने परिणाम आत्मघाती हुन सक्छ”, प्रा डा गौतमले भने । हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो । पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ । भौतिक दूरी दुई मिटर बढी हुनुपर्ने, मेडिक वा तीन तह भएको मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भए पनि भीडभाड र प्रदर्शनमा त्यसको कुनै ख्याल गरिएको छैन । यस्तै मन्त्रालयलाई हालसम्म २ अर्ब ७१ करोड २९ लाख ४७ हजार बराबरको बजेट प्राप्त भएकामा कूल १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको उहाँले जानकारी दिए । सम्पूर्ण विवरण आफूहरुसँग सुरक्षित रहेकोसमेत प्रा डा गौतमको भनाइ छ । रासस

क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु

स्वर्गद्वारी । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पिसिआरका लागि स्वाव सङ्कलन गरी पठाइएको थियो । यसमध्ये आज ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिए । रासस

युरिया र डिएपी मल अभावले किसान समस्यामा

धनगढी । धानखेती गर्ने समयमा देखिएको रासायनिक मल अभावले किसान समस्यामा परेपछि यहाँका कृषि सहकारी संस्थाले मल आपूर्तिको पहल थालेका छन् । सरकारी अनुदानको रसायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा मल मौज्दात सकिएपछि कृषि सहकारी संस्था आफँैले अनुदानको मल आपूर्तिको पहल गरेका हुन् । कोभिड–१९को समस्यासँगै जारी बन्दाबन्दीका कारण भैरहवास्थित कृषि सामग्री कम्पनीको कार्यालयबाट मल ढुवानी गरी ल्याउन असज हुँदा समयमै पर्याप्त परिमाणको मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनीको धनगढीस्थित कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए । मल अभावसँगै किसान समस्या पर्न थालेपछि मलको आपूर्ति गर्न चाहने सहकारी संस्थालाई कार्यालयले कृषि सामग्रीको भैरहवास्थित कार्यालयलाई सिफारिसपत्र बनाइदिन थालेको छ । “मल ढुवानी गर्ने जिम्मा लिएको ठेकेदारले बन्दाबन्दीका कारण मल ढुवानी गरी ल्याउन नसकेकाले कार्यालयमा पर्याप्त मल आउन सकेन, प्रमुख बोगटीले भने अहिले कृषि सहकारी संस्था आफैंले मल ल्याउने भनेपछि ६ सय मेट्रिक टनका लागि सिफारिस गरी पठाएका छौं ।” कृषि सहकारी संस्था कैलालीका भोजराज भट्टले धानखेती गर्ने समयमा मल अभाव भई किसान समस्यामा परेकाले सहकारी संस्था आफैंले मल आपूर्तिको पहल गरेको बताए । कृषि सामग्री र साल्ट ट्रेडिङले सहकारी संस्थामार्फत किसानलाई अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको छ । मल अभाव भएपछि खेती कसरी गर्ने भन्ने समस्या आएको कैलालीका किसान वीरबहादुर चौधरीले बताए । “एकतिर कोरोनाको डर र अर्कोतिर मल नहुँदा खेती कसरी गर्ने भन्ने समस्या आइलागेको छ, धनगढी उपमहानगरपालिका–१३ का किसान चौधरीले भने, “मल प्रयोग नगरौं भने धान उत्पादन घट्ने डर लागेको छ ।” मल मौज्दात सकिएपछि कृषि सामग्रीले थप ७ हजार मेट्रिक टन र साल्ट ट्रेडङले थप ५ हजार मेट्रिक टन मल आपूर्तिको पहल पनि गरेको छ । तर तत्काल मल आउने सम्भावना नदेखिएको भन्दै कृषि सहकारी संस्थाहरु मल आपूर्तिका लागि आफैं अग्रसर भएका हुन् । साल्टटे«डिङ कर्पोरेशनको यहाँस्थित कार्यालयले चालू वर्षमा तोकिएको कोटाअनुसार युरिया र डिएपी मल पहिले नै बिक्री गरिसकेको छ । कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले चालू वर्षमा तोकिएको कोटाअनुसारको १० हजार १ सय ३० मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिसकिएकामा अहिले अभाव देखिँदा थप मल मगाइएको बताउनुभयो । सरकारले अनुदानमा खरिद गर्नेमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको जनाइएको छ । कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्पेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ । तर यो मल महङ्गो पर्ने गरेको किसानको भनाइ छ । सयममै पर्याप्त मलको आपूर्तिका लागि उचित व्यवस्थापन हुन नसक्दा खेती गर्ने समयमा वर्षेनी सुदूरपश्चिम प्रदेशका किसानले मलको अभाव झेल्दै आएका छन् । यहाँस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले चालू आवको गत साउनदेखि जेठ २२ गतेसम्म युरिया ८ हजार १ सय ८६ मेट्रिक टन र डिएपी ५ हजार ५ सय ७२ मेट्रिक टन सहकारी संस्थालाई बिक्री गरिसकेको छ । गत आवको यसै अवधिमा कार्यालयले युरिया ६ हजार ७ सय ५८ मेट्रिक टन र डिएपी ४ हजार ६ सय ७ मेट्रिक टन बिक्री गरेको थियो । कार्यालयले कञ्चनपुर र डोटी जिल्लाबाहेकका प्रदेशका अन्य सबै जिल्लामा मल आपूर्ति गर्दै आएको छ । कृषि सामग्रीको कार्यालय भीमदत्तनगरले कञ्चनपुर र डोटी जिल्लामा यो मल आपूर्ति गर्दै आएको छ । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ । सरकारले विदेशवाट मल खरिद गरेर किसानलाई बिक्री गर्दा खरिदभन्दा कम मूल्य (अनुदानित मूल्य) मा उपलब्ध गराउने गरेको छ । किसानलाई अनुदानित मूल्यमा मल उपलब्ध गराउने सरकारको नीति भए पनि दिइएको अनुदान मूल्यभन्दा महङ्गोमा मल खरिद गर्नुपरेको कतिपय किसानको गुनासो छ । मलको ढुवानी र लोड–अनलोड गर्दा लाग्ने खर्चअनुसार मलको मूल्य पनि ठाउँअनुसार फरक–फरक हुने गरेको छ । कृषि सहकारीमार्फत यो मल बिक्री वितरणको व्यवस्था गर्दा कतिपय क्षेत्रमा यो मल महङ्गो पर्ने गरेको गुनासो किसानको छ । सहकारीले मल किसानलाई बिक्री गर्दा मलको ढुवानी र लोडअनलोड गर्दा लाग्ने खर्च र केही प्रशासनिक खर्चसमेत जोडेर बिक्री गर्न पाउने मापदण्ड बनाइएको छ । तर, कुन ठाउँको सहकारीले कति मूल्यमा मल बिक्री गरिरहेका छन् भन्नेमा अनुगमन हुनसकेको छैन । लहान– धान रोपाइँ हुनै लाग्दा सिरहामा यतिबेला युरिया र डिएपी (रासायनिक मल) को चरम आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँ गर्ने बेला भएकाले मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख कमल पोखरेलले जानकारी दिए । उनका अनुसार सिरहामा तत्कालै ३ हजार बोरा डिएपी र त्यति नै परिमाणमा युरिया मल चाहिएकामा हाल कृषि सामग्रीको गोदाममा एक बोरा पनि मल छैन । गोदाम नै खाली भएपछि दैनिक मलका लागि आउने किसानलाई रित्तो हात फर्काउने गरेको प्रमुख पोखरेलको भनाइ छ । किसान रासायनिक मल खरिद गर्न दैनिक सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निरास भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाइए धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ । “धानको बेर्ना लगाएदेखि नै अर्थात् जेठको पहिलो सातादेखि नै किसानलाई मलखादको आवश्यकता पर्छ, तर जेठ बित्नै लाग्दासमेत अझै मलखाद पाउन सकेका छैनौं”, सिरहाको धनगढीमाई नगरपालिका–५ का किसान प्रदीपकुमारसिंह दनुवारले भने, “पटक–पटक मलका लागि कार्यालयदेखि सहकारी संस्थासम्म धाउँदै आएँ तर अझै मल पाउन सकिनँ”, मल नपाएपछि समस्यामा परेको उनको गुनासो छ । गोदाममा भएको ४ सय ८४ मेट्रिक टन डिएपी र २ सय ६९ मेट्रिक टन युरिया गत जेठ १८ गतेदेखि २२ गतेसम्ममा बिक्री गरेकोे र अहिले मलखादको मौज्दात शून्य भएको प्रमुख पोखरेलले बताए । तत्काल चाहिने युरिया र डिएपी तीन–तीन हजार मेट्रिक टन उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पत्राचार गरे पनि अझै मल आउने वा नआउने भन्ने अन्योल रहेको प्रमुख पोखरेलको भनाइ छ । यस्तै लहानस्थित साल्ट ट्रेडिङ कम्पनीमा पनि युरिया र डिएपीको अभाव भएको जनाएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि आभाव हुँदा किसान मारमा परेका छन् । रासस