रासायनिक मल खोज्नमै किसानको दैनिकी

भजनी । वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन् । कैलालीमा रासायनिक मलको अभावसँगै किसान महँगोमा मल किन्न बाध्य छन् भने महँगोमा समेत मल नपाउँदा किसानको दैनिकी मल खोज्नमै जान थालेको छ । टीकापुर नगरपालिका–३ का लक्ष्मण विकले करिब चार बिघा क्षेत्रफलमा धान रोपाइँको तयारी गरेका छन् । धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न नसकिएको उनले बताए । “बजारमा रासायनिक मल पाइँदैन । दैनिकी नै मल खोज्नमै जान थालेको छ”, लक्ष्मणले भने, “अन्य मल पाइए पनि महँगोमा किन्नुपरेको छ । युरिया बजार कतै छैन युरिया मल नहाले खेती नै हुँदैन ।” सहजरूपमा मलको आपूर्ति नहुँदा खेती रोप्ने चटारोमा रहेका किसान मलको खोजी गर्दै चर्को मूल्यमा रासायनिक मल खरिद गर्न बाध्य भएको भजनी नगरपालिका–८ का गौरी चौधरीले बताए । “तीनै तहको सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखेका छन्, त्यो नाममा मात्रै सीमित छ”, गौरीले भने, “खेती लगाउने समयमा जहिले पनि रासायनिक मलको अभाव हुन्छ । पाए पनि धेरै महँगोमा किन्नुपर्ने बाध्यता छ । सरकारले किसानलाई राहत हुने काम गर्नै सकेको छैन ।” उनले मल तथा बीउ खादको चर्को मूल्य तिर्नुपर्ने बाध्यताकै कारण किसानलाई खेतीबाट आम्दानीभन्दा बढी खर्च हुने गरेको बताए । रासायनिक मलको बिक्री–वितरण गर्दै आएका सहकारी संस्थामा दैनिक सयौं किसान मलका लागि पुग्ने गरेका छन् । सहकारीमा पुगेका किसानले मल नपाउँदा सहकारीमा निवेदन छोडेर फर्कने गरेको कृषि सहकारीले बताउँदै आएको छ । अघिल्ला वर्षहरुमा सीमा नाकाबाट अवैधरूपमा मलको आपूर्ति हुने र भेटेरिनरीबाट चर्को मूल्यमा भए पनि मल पाइने गरेको थियो । अहिले कोरोना भाइरसका कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा मलको झनै चरम अभाव देखिएको हो । कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रतिक्विन्टल युरिया १ हजार ६ सय ५२ रूपैयाँ, डिएपी प्रतिक्विन्टल ४ हजार ५ सय ५२ रूपैयाँ र पोटास प्रतिक्विन्टल ३ हजार ३ सय ५२ रूपैयाँमा उपलब्ध गराइरहेको छ तर किसानले अहिले रासायनिक मल युरिया प्रतिक्विन्टल २ हजारदेखि २ हजार ८सय रूपैयाँ, डिएपी ५ हजारदेखि ६ हजारसम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री केन्द्रले निर्धारण गरेको मूल्यमा युरिया डिएपी, पोटास मलको बिक्री गर्दा उक्त सहकारीलाई कृषि सामग्री कम्पनीले ढुवानीसहितको व्यवस्था गरी मल कृषि सहकारीलाई प्रदान गर्ने गरेको हुन्छ । प्रतिक्विन्टल ६० देखि ७० ढुवानी अनुदान रहेको मलमा लोड अनलोड कृषि सहकारीले आफैं गर्ने गरेका हुन्छन् तर अहिलेको परिस्थितिमा प्रतिक्विन्टल ९० देखि १०० ढुवानी भाडा र लोड अनलोड गरी ३२ रूपैयाँ खर्च लाग्ने गरेको सहकारीले बताउने गरेका छन् । कृषि सामग्रीको निर्धारित मूल्यभन्दा ढुवानी भाडा थप गरी केही रकम बढाएर सहकारीले बिक्री गर्न पाए पनि टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउँदले मलको अभाव भएका कारण किसानको मागलाई पूरा गर्न नसकिएको बताए । उनले डिएपी र पोटास मल छिटपुटरुपमा पाइए पनि युरिया मल पाउन नसकिएको भन्दै सयौँ किसानले मलका लागि सहकारीमा निवेदन दर्तासमेत गरेको बताएका छन् । “हामीले मलको आयातका लागि निरन्तर सम्पर्क गर्दै आएका छौँ”, अध्यक्ष साउँदले भने, “युरिया मलको नेपालभरि नै अभाव देखिएको छ । माग अत्यधिक भएकाले यही अवस्थामा मल पाए पनि पूर्ति गर्नसमेत सकिने अवस्था देखिँदैन ।” उहाँले लकडाउनको बेला ढुवानी महँगो भएको भन्दै मल बिक्रेता सहकारीले केही मूल्य बढाएर मल बेच्नुपर्ने बाध्यता रहेको बताए । कैलालीमा ९५ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ३९ हजार हेक्टरमा धानखेती हुने गरेको छ । त्यसका लागि चार हजार टन युरिया र तीन हजार टन डिएपी मल आवश्यक पर्छ । मल अभावको अवस्थामा चर्को मूल्यमा बिक्री गरे कारवाही हुने कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए ।   रासस

आमा ! घर फर्कु कि चिहानमा ?

लेखक सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ घरदेशमा आफ्नाबाटै परदेशमा पराईबाट जोगाएको अस्मिता घरदेशमा घरैबाट लुटियो आमा माइती देशको त कुकुर पनि प्यारो हुन्छ भन्थे मेरा दाजुभाइ कुुकुर जति पनि प्यारा भएन्न आमा उज्यालो खोज्दै हिंड्दा अँधेरो आँगनमा आईपुगेंं म रक्षक नै भक्षक भए पछि मेरो अस्मिताको रक्षा गर्न सकिन आमा मसँग मेरो लासमात्र बाँकी छ घर लैजाउ कि चिहानमा मसँग अँधेरो रात मात्र बाँकी छ लामो निन्द्रा निदाउँ कि म फेरी पर्खु बिहानमा भन न आमा म घर फर्कु कि चिहानमा ?

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो

लहान । गत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो । “न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्”, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब सङ्कलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउन’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउन, भनेकाले रोकेका हौं ।’ मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब सङ्कलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब सङ्कलन नै रोकिएपछि कोरोना सङ्क्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताए । ‘‘हामीसँग अझै स्वाब सङ्कलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट सङ्कलन गर्न निर्देशन नै आएको छ”, प्रमुख यादवले भने, “त्यसैले स्वाब सङ्कलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौं ।” पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते सङ्कलन गरी पिसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १ सय ५० को मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् । गत जेठ १७ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढेकाे सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए । “दैनिक क्वारेन्टिनमा आउनेको सङ्ख्या बढ्दै गएको छ”, गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टिनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौं ।’ भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टिन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए । “हामीसँग दुई हजार श्ययाको क्वारेन्टिन छ तर अहिलेसम्म करिब १ हजार ५ सयभन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्”, प्रजिअ गुरागाईँले भने, “दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टिन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ ।” त्यसैले अब आरडिटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईँले बताए । हालसम्म सिरहामा १ हजार ८ सय ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र १ हजार ४ सय ४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिर्पोट आएको छ भने ३ सय ४२ जनाको रिर्पोट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । आरडिटी किटबाट कूल १ हजार ७ सय ७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र १  हजार ७ सय १० जनाको रिर्पोट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।  रासस