बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरे । वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।   रासस

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताए । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका छन् । मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गरे । मुख्यमन्त्री गुरुङले भने, “विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना सङ्क्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षणबिना घर पठाउने भने पनि प्रदेश सरकारले सङ्क्रमितको पिसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ ।” मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्नेमा जोड दिए । रासस

म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीलाई सफाइ

काठमाडौं ।  सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसूरमा मुद्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।