श्रीमतीजीको हिम्मत
“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..” मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम । हुन त पुरुषसँग मेरोे नाम जोडिएको यो पहिलो पल्ट भने होइन । सानो छँदा भाँडाकुटी खेल्ने क्रममा कैयौं पल्ट केटा साथीको बेहुली भएकी छु । स्कुलमा पनि कक्षा आठ–नौ तिर पढ्दा साथीहरुले मेरो नामसँग अरु कसैको नाम जोडिदिएर डेस्क–बेञ्चमा लेखेकै हुन्थे । तर नितान्त फरक छन् ती नाम र अहिले कार्डमा छापिएको पुरुषको नाम । बुबाले चारैतिर बुझेर अनि धेरै पल्ट सोचेर मात्र आफ्नो मुटुको टुक्रालाई यही पुरुषसँग विवाह गरिदिने निश्चयमा पुग्नुभएको थियो । “कोही केटा मन पराकी छेस् भने भन् है” केटाको परिवार मलाई माग्न आएको साँझ बुवाले मलाई सोध्नु पनि भएको थियो । अहिले लाग्छ बुबाको त्यो प्रश्न बेतुकको थियो सायद । स्कुल अनि कलेज छँदा ‘पढ्नमा मन गर्नु, ठुलो मान्छे हुनुपर्छ, सभ्य र भलाद्मी हुनुपर्छ’ भनेर सिकाउने बुवाले ‘कोही केटा मन पराकी छेस् ?’ भनी सोध्दा बेतुक झैं लागेको थियो मलाई बुबाको त्यो प्रश्न । विवाह पछिका केही महिना त रमाइलै गरी वितेका थिए । पतिनै जीवन र भविष्य हो भन्ने सोचाई राखेको थिएँ । नारी, सरिता, गृहलक्ष्मी र गृहशोभा जस्ता मासिक पत्रिकाहरु पढेर नयाँँ–नयाँँ रेसिपिको साथ उसलाई भोजन पनि गराउँथें । तर कति चाँडै उसमा बदलाव आएको होला । ‘वाह ! कति मिठो पकाएको’ भन्ने वाक्य शुरुशुरुका दिनको जस्तै गरी आज पनि सुन्न लालाइत छु । मात्र एक वाक्य त हो नी । तर अहँ, सायद सम्झौता रहेछ जीवन । कहिलेकाहिँ त यस्तो लाग्छ कि सम्झौता भन्ने कुरा मैले मात्र किन गर्नुपर्ने होला ? सधैं पुरुष नै माथि किन हुन्छ ? नारीले मात्र धर्ती बनेर सहिरहनु पर्ने हो र ? वास्तवमा एउटी नारीले आफ्नो पतिबाट चाहने भनेको अभिभावकत्वको हिसावले आफ्नो पति बुबा जस्तै होस् जसले जुनसुकै समस्यामा पनि ढाल बनेर आफ्नो रक्षा गरोस् भन्ने हो । सानातिना गल्तीहरुलाई नजरअन्दाज गर्दै सुधार्ने मौका देओस्, आमाले झैं हरेक कुराको ख्याल राखोस्, कोमल होस् अनि भावना बुझेर साथीजस्तै गरी जिस्कियोस्, चलोस्, गालि गरिहाले पनि मिठो गालि गरोस् ताकि फकाउन मजा आओस् भन्ने हो । एउटी नारीले पत्नीको रुपमा श्रीमानबाट चाहने यिनै त हुन् नि ससाना कुरा । यही साना–साना कुरा पूरा भए त खुसी भैहालिँदो रैछ नि । सायद मैले पनि आफ्नो श्रीमानसँग यही कुरा चाहेको थिएँ । अस्ति भर्खरकै मात्र कुरा हो ऊसँग बजार जाँदा उसको आँखा र ध्यान चाहिँ सडकको पल्लोपट्टि हिँडिरहेकी केटीमा भएको चाल पाएँ । हेर्नु नराम्रो त होइन तर कुरा नियतको हो । मैले के सम्म गरेको छैन र उसका लागि । खुम्चिएको लुगामा अफिस नजाओस्, उसलाई सवैले राम्रो देखुन् भनेर उसका लुगामा आइरन लगाइदिने गरेकै थिएँ । समयमै धोइदिने गरेकै थिएँ । उफ्… लुगा मात्र कहाँ हो र, कति चोटि त कछाड पनि धोइदिएको छु । कति भाडाको घरमा मात्र बस्नु भन्ने सोचेर ऋण नलाग्ने गरी एउटा सानो घर बनाउनका लागि विवाहमा बुबा–आमाले दिनुभएको सिक्री, औंठि अनि तिलहरी बेचिदिएकै थिएँ । यहाँसम्मकी, बुवाले मलाई आर्थिक समस्या नपरोस् भन्दै सुटुक्क राखिदिएको फिक्स्ड डिपोजिट पनि तोडाइदिएँ । छोरा जन्मेपछि मलाई माया गर्लान् भनेर चित्त बुझाउन नखोजेको पनि होइन तर ऊ भने दिन प्रतिदिन मेरो सहनशिलतालाई कमजोरी ठान्दै मलाई हेप्ने गरिरहेको छ । के उसले आज कमाएको पैसा अनि उसको सफलताको पछाडि मेरो चाहिँ केहि हात छैन् ? अस्ति दिउँसो मैले ‘पाइन्ट लगाऊँ ?’ भनी सोध्दा उसले मलाई कम्ती गिज्याएन । म पाखे देखिन्छु रे, सुहाउँदैन रे, मोटि भएँ रे, केके हो केके । उसका अफिसका महिला कर्मचारीहरु स्मार्ट छन् रे, आधुनिक छन् रे । सायद त्यही भएर नै होला अचेल ऊ म सँग घुम्न त्यति मन पनि गर्दैन । उ पनि म जस्तै बि.बि.एस. त पास हो नि । मलाई जागिर नखाऊ भनेर उसैले हो कर गरेको । जागिर खान दिएको भए म पनि खान सकिहाल्थेँ नि । यदी त्यस्तो हुन्थ्यो भने त म पनि ऊ जस्तै पोस्टमा पुग्न सक्थेँ नै होला । अनि त भै हाल्थेँ नि उसका अफिसका महिला कर्मचारी जस्तै स्मार्ट । म यदी पाखे देखिएको छु भने मलाई यस्तो बनाएको उसैले हो । छोराछोरी हेर, थाङ्ना धोऊ, घर सफा राख, सासु, ससुरा अनि नन्दको विचार गर, एउटा महिलाको कम काम हुन्छ दिनभरी ? उफ् ….रातमा पनि उसको चित्त बुझाउनु रे । तर के गर्नु, यति विधि गर्दा पनि मेरो आफ्नो भन्ने के नै छ र ? माइतीमा हुन्जेल बुवाको छोरी भएर त्यै परिचयमा बाँचियो, बिहे पश्चात् सिउँदो आफ्नो तर सिन्दुर उसको नामको, थर गोत्र उसको नामको, गर्भ आफ्नो तर सन्तान उसैको, यहाँसम्मकि घरको बिजुली, टेलिफोन, केवल, नेट सबै उसैको, मेरो त भन्नु के नै पो रहेछ र । हिजो साँझकै मात्र कुरा हो, थकाइ लागेर यसो पल्टिँदै टि.भि.को रिमोट मात्र के समातेको थिएँ खाउँलाझैं गरेर रिमोट खोस्दै “घरमै बस्यो, काम केही नगर्यो, दिनभरी हल्लियो, फोकटको खायो” भन्दै करायो । म पनि त भन्न सक्थेँ नि यो मेरै माइतीले दिएको दाइजो हो भनेर । तर किन बेकार द्वन्द निम्त्याउनु, चुप लागेँ । मेरो समझदारीलाई उसले दिन प्रतिदिन कमजोरी ठानिरहेको छ । किन घर गृहस्थी सम्हालेकी नारीले इज्जत पाउँदैनन् ? माइतिले पाल्न नसकेकोले गर्दा नारीले पुरुषको सहारा लिन्छन् भनी किन बुझ्छन् पति भनाउँदाहरु ? आज विहान मेरा आँखा चाँडै उघ्रिए । ओछ्यानमै पल्टिएर मनमा कुराहरु खेलाउँदै गर्दा अचानक एउटा निर्णयमा पुगेँ र जुरुक्क उठेँ । सदा झैँ सरिता, गृहलक्ष्मी, गृहशोभा लगायतका नारीप्रधान पत्रिका पढ्न आज मन लागेन बरु एउटा दैनिक पत्रिका किनेर ल्याएँ र भित्री पृस्ठको एउटा विज्ञापनमा टक्क आँखालाई अड्याएँ, जहाँ ‘कर्मचारी आवश्यकता’ भनेर छापिएको थियो । पत्रिकाहरुमा भ्याकेन्सी त सधैँ नै छापिएकै हुन्थे तर सायद मेरा आँखा र हिम्मत मात्र त्यहाँसम्म नपुगेका रहेछन् । वर्षौं देखि दराजमा थन्क्याएर राखेको आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरु झोलामा राखेर विहानको १० बज्नै लाग्दा घर वाहिर निस्किएँ । म पहिलो पल्ट केही नभनी आत्मविश्वासका साथ हिँड्न लागेको देखेर श्रीमान् अचम्मित भए अनि एकटकले हेरिरहे । उनको आँखामा एउटा प्रश्न प्रष्टै देखियो – “कता जान लागेको ?” म पनि टक्क अडिएँ र उनीसँग आँखा जुधाउँदै आत्मविश्वासका साथ आखैंबाट जवाफ फर्काएँ, “तिम्री पाखे श्रीमती आज अलिकति हिम्मत गरेर इन्टरभ्यु दिन जाँदैछे ।” बिराटनगर–५, हाल तेह्रथु फोन: ९८५२०३६३११
फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा
परासी । लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैंअदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ । अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा कीर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दामा तत्कालीन वडा सचिव गोविन्द कहार र कीर्ते कागज प्रयोग गर्ने रामग्राम–५ की रुक्शाना शेष पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मितिलाई केरमेट गरी फरक मिति बनाएर प्रतिलिपि जारी गरेको भन्दै वडासचिव र वडाध्यक्षसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरको मुद्दा दायर भएको थियो । रामग्राम–५ का सुबेदार शेष र रुक्शानाको विवाह दर्तामा कायम भएको मितिलाई प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न भनिएका वडाध्यक्ष गुप्ता, तत्कालीन वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे । उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । प्रतिवादीमध्ये नन्दलाल पनि ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । कार्यालय सहयोगी अमरलालको केही दिन अगाडि मृत्यु भएको बताइएको छ । रासस
लकडाउन यता बाँकेमा मात्र ६७ लैङ्गिक हिंसा घटना दर्ता
नेपालगञ्ज । काेराेनाकाे सङ्क्रमण फैलिए यता बाँकेमा मात्र ६७ वटा लैङ्गिक हिंसा घटना दर्ता भएका छन् । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ । जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्पmत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो । जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो । समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए । बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोरोना सङ्क्रमणको सन्त्रास र लकडाउन अवधिमा लैङ्गिक हिंसाका घटनामा कमी नआएको बताउँदै बन्दाबन्दी लागू भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा ६७ लैङ्गिक र महिला हिंसासँग सम्बन्धित घटना दर्ता भएको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, अधिकारकर्मी कमला पन्त, प्रल्हादबहादुर कार्कीलगायतले प्रहरीको एकल प्रयासले मात्र महिलामाथिको हिंसा रोक्न नसकिने भएकाले सबै पक्षको सहकार्यमा जोड दिएको हो । रासस