एनपिएलको तयारी पूरा, विजेता टोलीलाई एक करोड १० लाख पुस्कार

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।       पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।      प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।      त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।      एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।   

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।      सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।  

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ ।      सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।       आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो ।      आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर कात्तिक २९ गते राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरूष, ३० हजार २३५ महिला र चार अन्यगरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् । योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको सङ्ख्या दुई लाख ८१ हजार १२९ पुगेको छ । आयोगले शनिबार पनि नामावली दर्ता जारी राखेको छ ।