भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ । पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ । भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने, 'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।' नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।' प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु
म्याग्दी । धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 'गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो', उनले भने 'टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।' खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । रासस
कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आइतबार एक विज्ञप्ति निकालेर जनाएको छ । बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।