काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्‍यो, मंसिर ४ गते बस्ने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा यसअघि २०८२ मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी परिवर्तन गरिएको पार्टीले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति रहनेछ । केन्द्रीय कार्यसमितिका आवश्यक कामकारबाही तथा छलफललाई व्यवस्थित गर्न मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।  

एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बन्यो एलओडी क्लब

काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरी क्लबका कार्यकारी निर्देशक रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरे ।  कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार खेल भइरहेको समयमा क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबले क्रिकेट रंगशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् ।  ‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नु क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने ।