बच्चा जन्मन डराउने प्रवृत्ति मानव अस्तित्वकै जोखिम
कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो । किनभने, त्यो बनाउने जनसङ्ख्या थियो । भूगोलले देश बनाउँदैन । भूगोल त जनसङ्ख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदोरहेछ । त्यसो भएर जनसङ्ख्या सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले अक्सर भन्ने गर्छु, यदि मानव जाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो । यहाँको विकास कसले बुझिदिने, विकासको आवश्यकता किन पर्ने, जङ्गली जनावरलाई विकास हुनुले के फाइदा ? यहाँको सुन्दरताको अनुभूति कसले गर्दिने ? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनाश, कस्तो साइकल सृष्टिको, लयको र विनाशको ! यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो ? कसले थाहा पाउन्थ्यो, यो ब्रम्हाण्डको के अर्थ थियो ? यी तारा नक्षेत्रहरु र ग्रहहरु घुम्नुको के अर्थ थियो ? यिनको अस्तित्वको के अर्थ थियो ? त्यसलाई नै बुझ्ने मान्छे भएन भने अर्बौं र खर्बौं अझ धेरै खर्ब वर्षहरु कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो । यो परिकल्पना कसले गर्यो, समय कसले बाँड्यो, कसले समय सिर्जना गर्यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाइबनाइकन समय बाँडेर, यो सबै मान्छेको लिला हो । यही मान्छे भएन भने के काम भयो र ? जनसङ्ख्या छ र प्रकृति–सृष्टिको अर्थपूर्ण छ । मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन । धर्ती मात्रै हो, जहाँ मानिस छ । त्यसकारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रम्हाण्डमा सबैभन्दा महत्वपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो । ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो । ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिमध्ये, नक्षेत्रका उपजहरुमध्ये, ब्रम्हाण्डका उपजहरुमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो । यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पु¥याउने कामको वास्तवमा अर्थ नै मानव जातिको अस्तित्वसँग छ । तसर्थ, यदि मानव जाति नभए के काम ? तसर्थ, हामी मानव जातिको अस्तित्व, मानव जातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ । त्यसकारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदैछन् भने सुखपूर्ण छैन । मानव जातिको अस्तित्व अहिलेसम्म खतरामा छैन । तर मानव जातिका आनीबानी आदि कुराहरुले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ । त्यसकारण यसपट्टि अब ध्यान दिनेबेला भयो । एजिङ पपुलेशनका कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ । जनसाङ्ख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो सङ्केत भएन । जनसङ्ख्या एकदमै बढेर बिस्फोटको एउटा समय थियो । हामी जनसङ्ख्या बिस्फोट भन्थ्यौँ । त्यसबेला परिवार नियोजन संस्थाहरु बने । रेडियो खोल्नेबित्तिकै परिवार नियोजन ! सन्तानहरुले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो । कत्रो चिन्ता थियो, सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर । बुढाबूढीले आर्शिवाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नु हुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो । दुनियाँमा जनसङ्ख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो । विकासले जनसङ्ख्याको बढ्दो ‘टेण्ड’लाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसङ्ख्या स्टेबल (स्थिर) छैन र माइनस (ऋणात्मक) तिर गएको छ । जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ अथवा विकासले जनसङ्ख्यालाई स्टेबल (स्थिर) राख्नुपर्दथ्यो तर स्थिर राख्न सकेन । जनसङ्ख्या मानवीय नियन्त्रणभन्दा कहिले बिस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्तिहरु देखा परे । विकास अनिवार्य छ । अवश्यमा भावी छ । विकास गर्नैपर्छ र हुनैपर्छ । विकास हुन्छ नै, अवश्य भावी छ । विकासको अर्थ जनसङ्ख्या हस हो भने इट्स भेरी डेन्जरस् । त्यसकारण यो चिन्ताको विषय पनि हो । मुख्य कुरा जनसङ्ख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो । यो घट्दै गएर नजाओस् । यसका कारणहरु के छन् त ? विवाह ढिलो गर्नु हो की ? विकास र उन्नतिको आकाङ्क्षाले गर्दा सन्तानप्रति कर्तव्य बोध हुन नसकेको हो की ? अथवा मानवीय भाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि ? अर्थात् मानवीय भावको न्यूनता आएको हो की ? बच्चाहरुप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि ? के भइराखेको हो ? यसका मनोवैज्ञानिक विश्लेषणहरु हुनु आवश्यक छ । मान्छे यति स्वार्थी भयो की आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने । अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो । त्यसले ब्रम्हाण्डको अर्थ छैन । पृथ्वीमा मात्रै मानव छ । मानव मात्रै श्रेष्ठ छ । प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरामा के हो भन्दा मानव मस्तिष्क हो । त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने ! मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ । आकास आकास नै दुई चार सय मान्छे बोकेर, कति कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ । बादलभन्दा धेरै छिटो उड्छ । मान्छेले त उधुम गरेको छ । हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नी ! मान्छेले यही प्रगति गरेको छ । अनि त्यही मान्छे भएन भने ? त्यसकारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ । मानिस जति मूल्यवान चिज अर्को छैन । यो हाम्रा लागि मात्रै होइन । यो सृष्टि सिर्जनाकै लागि मानव जति मूल्यवान् चिज अर्को छैन । प्लिज मान्छे मार्नेहरु मान्छे मार्न छोड, युद्ध गर्नेहरु युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरु हतियार उत्पादन गर्न छोड । गोष्ठी जनसङ्ख्या डेमोग्राफिक इम्ब्यालेन्स भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकैपटक ‘मासडिस्ट्रक्शन’का हतियार बनाइदिने । यसबारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने । अर्को कुरा, मेरा पनि छोराछोरी छैनन् । सायद मैले समयमै बिहे नगरेर पनि होला । मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिन । ध्यान दिइनँ तर हामी यति व्यस्त हुनु हुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस् । हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नुपर्छ । सचिव बढुवा हुने बित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नुपर्छ । रिक्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोकसेवा चाहिन्छ । उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन ! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो । यो सानो कुरा होइन । सृष्टिको सार्थकताका लागि डेमोग्राफिक इस्यु सर्वाधिक महत्वको यसकारणले हो । यही धर्तीमा कतै जनसङ्ख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला । डिभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि । जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डिभी हालेर झिकाउन सकिहालिन्छ । तर, धर्तीमै डिभी हाल्दा पनि नपाइने भयो भने के गर्ने ? मान्छे छैन भने डिभी हाल्ने त कोही पनि हुँदैन । अनि के गर्ने ? त्यसकारण यसमा आत्मनिर्भर हुनुपर्यो । मैले केही सयम अघि युवाको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ । भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन् । तर, हाम्रो तराईमा २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाहे कुरा भइराखेको छ । अविवाहित हिसाबले टिकाउन धेरै गाह्रो भइराखेको छ । मैले युवाहरुलाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीन वटा बनाउ । ३० वर्षभित्र तीन वटा छोराछोरी बनाउ, अनि काममा लाग । ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेको हुन्छ । आजकाल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई । त्यतापट्टि धेरै चिन्ता गर्नु पर्दैन । तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकल सजिलो बनाएको छ । यसमा पनि धेरै चिन्ता गर्नु परेन । देशलाई पुग्ने जनसङ्ख्या हुनु प¥यो । हामी कहाँ देशलाई पुग्ने जनसङ्ख्या छ । जनसङ्ख्याको व्यवस्थापन अझै हुन सकेको छैन । त्यसकारण हाम्रा युवाहरु के गीत गाउँछन् भने ४० कटेपछि रमाउला । महिलाहरु प्रजनन् क्षमता ४० कटेपछि अत्यन्तै न्यून हुन्छ वा प्रायः हुँदैन । अनि ४० कटेपछि रमाउला भनेर हुन्छ ? त्यसकारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माउ । त्यसमा युवायुवतीहरुलाई प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । यो गम्भीर कुरा हो । जतिबेला प्रजनन् क्षमता बढी छ, त्यति बेला जन्माउनुपर्छ । पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ । नातिनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनाति–पनातिनीले खेलाउने रहर पुर्याउन पाइन्छ । अब अलिकति ६०/७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने भनेको रहर भनेको के हो, थाहा हुँदैन । नातिनातिनी खेलाउने, पनाति–पनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महत्वको व्यवस्था हाम्रा पूर्वजहरुले स्थापना गरेका छन् । परिवार भनेको एकल परिवार होइन । भालेपोथी र बच्चा चराको पनि हुन्छ नि । त्यो परिवार हुन्छ ? गाईको पनि एउटा बाछो हुन्छ, बाछी हुन्छ । त्यो परिवार हुन्छ ? हुँदैन । परिवार भनेको परिवारका रुपमा हुनुप¥यो । त्यो हाम्रो समाजमा हुन्छ । यसलाई हामीले कायम गर्नुपर्छ । पारिवारिक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, बसुधैब कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ । कुटुम्बको कसैलाई केही मतलब नै छैन । आफैँआफैँ मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ । आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्धबिच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्धबिच्छेद गर्छ, धुरुधुरु रुवाएर । त्यस्ता पनि यहाँ छन् नि । त्यो खालका तरिका छोड्नुपर्छ । मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मियता, छिमेक सम्बन्ध, छिमेकी–छिमेकीको बीचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो । स्वार्थ मात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ । मानवताका साथ उन्नति गर । प्रगति आफ्नो गर, सहयोग अरूलाई गर । यो भावना हामीमा हुनुपर्छ । हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ । हाम्रो जनसाङ्ख्यिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो । एउटा एक्जिस्ट्यान्सको कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनुपर्छ । त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनुपर्छ । अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ । ‘फुड ह्याबिट’ले गर्दा स्वस्थ छैन । उपलब्ध खान त खानु पर्यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन । समस्या त्यो छ । किनेर पनि स्वस्थ खान पाइँदैन । विषादीयुक्त चीज किनेर खानुपर्छ । विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ । यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नुपर्छ । यो जनसङ्ख्या नीति, डेमोग्राफिक पोलिसीले इन्डिकेट गर्दिने र अरू सरोकारवाला मन्त्रालयले आ–आफ्ना काम गर्ने । समाज सचेत भएर यस्ता प्रयासहरुमा लाग्ने । अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन । कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु । के भएको फेरि ? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ । हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरूलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको ? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ । आजकाल नमस्ते गर्नु भनेको ढाडै कुप्रिहाल्छ कि जस्तै गर्छन् । हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ । नक्कल गर्न सुगालाई छ महिना लाग्छ, हामीलाई एकै छिनमा, कोही भेट्याैँ भने हाई ! गर्छौं । एकपटक होटलमा गयो भने, बच्चाबच्चीहरुले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ । बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन ! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ । एक दिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईंको चर्चा हुन्छ । त्यसकारण बिग्रिन सजिलो छ । सप्रिन जिन्दगीभरि अडानमा बस्नुपर्छ । आपूmलाई नियन्त्रण गर्नुपर्छ र आत्मनियन्त्रक हुनुपर्छ । हामी नेपालीले जिम्मेवार, आत्मनियन्त्रक जसले पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट जोगाउनु पर्यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनु पर्यो । अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन । राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने । कति राम्रो गुलाफको भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन् । राम्रो भनेको सुन्नै नहुने । एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठीक छ । अरू केही राम्रो भन्नै नहुने । मान्छेमा त्यो प्रवृत्ति, कस्तो सङ्कीर्णता मान्छेमा आइराखेको छ ? एक ढङ्गले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषाक्त मनस्थिति, विषाक्त विचार, विषाक्त अभिव्यक्ति, विषाक्त क्रियाकलाप ? त्यस्तो खालको प्रवृत्ति मान्छेहरुमा छ । त्यसकारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टि लाग्नुपर्छ । देश बनाउका लागि आफू आफू बने पुग्छ । सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो । आफू आफू मान्छे बन्यो भने सरकारले धेरै केही गर्नु पर्दैन नि । अब यहाँ कस्तो भने प्रशस्त धन छ, तर धन भए पनि पढ्ने बेलामा छात्रवृत्ति चाहिन्छ । सरकारको काम के हो, निःशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउँ न है भनेर त्यहाँ कर्मचारीहरुलाई भन्छ । ए सिए साप तपाईंलाई यहाँ हिसाब जाँच्न मात्रै होइन, हिसाब मिलाउनुस्, तपाईंलाई यसो दसैँ आउन लागेको छ भन्छ । सिएलाई पनि मिलाएर यताउति गरेर गर्छ । ठेकदार कहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो गुणस्तरको भए पनि पास गराउने प्रवृत्ति छ । यस्ता कुराबाट जोगिनुपर्छ । देश बनाउने भनेको सजिलो होइन । असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ । त्यसकारण एउटा जनसाङ्ख्यिकी असन्तुलनतर्फको यात्रा छ । अहिले जति जनसङ्ख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ । अहिले हामी १.९ प्रतिशतमा छौँ तर दुईभन्दा बढी चाहिन्छ । दुईभन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डरलाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्ठै जान सक्छ । अब ‘डेमोग्राफिक डिभिडेन्ट’ भएन भने वा डेमोग्राफिक सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ । त्यस्तो डेमोग्राफिक सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिहरुको समाज हामीले निर्माण गर्नुपर्छ । यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुराहरु स्वस्थकर हुनु पर्दछ । मान्छेले काम गरिरहँदा आम्दानी मात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनुपर्छ । स्वास्थ्यबिनाको आम्दानी के गर्ने ? त्यसकारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनुपर्छ । उद्यमीहरुले, व्यवसायीहरुले मजदूरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदूरको स्वास्थ्यलाई मध्यनजरमा राखेर काम लगाउनुपर्छ । अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रसन्न चित्त हुनाका लागि सम्मानजनक ढङ्गले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नुप¥यो, त्यो चल्ने गरीको तलब वा आम्दानी, आम्दानी र खर्चका बीचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराहरुको सन्तुलनबाट जनसाङ्ख्यिक सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसाङ्ख्यिकी स्थिति देशमा मौजुदा हुन्छ । यी चीजहरु हामीले गर्नुपर्नेछ । हामी विश्व मानव जातिका लागि योगदान गर्न सक्छौँ । हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारहरुले क्रियाकलापहरुले विश्व मानव समुदायमा सकारात्मक योगदान पु¥याउन सक्छौँ । आज पुर्याइराखेका छौँ तर कसरी भन्दा युद्ध भइराखेका ठाउँमा नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ जान्छ, त्यसमा सुरक्षाकर्मी (फोर्स) उपलब्ध गराउने देशमा नेपाल पहिलो छ । नेपालले मान्छे बचाउने कुरामा योगदान गरेको छ । मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छेहरु लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा हामी लाग्नु परिराखेको छ । योभन्दा सिर्जनशील कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो ! हाम्रो त्यो जनसङ्ख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो हामी कायम गर्छौं । हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्नेछौँ । त्यसैकारण त हामी सानो देश भएर पनि विश्वसनीय छौँ । सानो देश भए पनि हामी विश्वसनीय छौँ । सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन ‘पिसकिपिङ फोर्स’मा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँहरुमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौं । तर, हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले कृतिम बौद्धिकता (एआई) तिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसङ्ख्या त्यतापट्टि लगाउन पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो । तर, आजको वर्तमान वास्तविकता के हो भने त्यसरी सम्पूर्ण मानव जाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन । विश्वका शक्ति राष्ट्रहरुले यो सोच्नुपर्ने विषय हो । वास्तवमा ‘सुप्रिमेसी, ‘डोमिनेसन’ र ‘कन्ट्रोल’ अहङ्कारका उपज हुन्, स्वार्थका उपज हुन् । मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा शालीनता, मानवता र विनम्रताका पक्षहरु हुन् । यी कुरा शान्तिका पक्षहरु हुन् । नेपाल सदैव शान्तिको पक्षमा छ । यस्तो देशमा हामी ‘डेमोग्राफिक इस्यू’मा ‘कन्सस्’ हुनुपर्दछ कि हामी कस्तो र कुन साइजको जनसङ्ख्या, कमसेकम जनसङ्ख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनु हुँदैन । दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमान्दार, निष्ठावान् जनशक्ति, जसभित्र बसुधैब कुटुम्बको भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस् । यसले योजनाबद्ध ढङ्गले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस् । मन्त्रालयले मेहनत गरेर जनसङ्ख्या नीति ल्याएको छ । यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यसमा कमीहरु छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमीहरु भएदेखि हामी ग्रहणशील छौँ । जोसुकै साथीहरुले पनि यसमा भएका कमीकमजोरीहरु र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुराहरु देखाइदिन सक्नुहुन्छ । ती कुराहरु खास गरेर मन्त्रालयले ग्रहण गर्नेछ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रुपमा फेरि परिमार्जित नीतिका रुपमा अगाडि बढाइनेछ । यो नीति ग्रहण गरौँ र आलोचनात्मक चेत भन्छन्, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ । आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनुपर्छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ । त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ । त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु । यस कार्यक्रमको आयोजनाका लागि स्वास्थ्य मन्त्रालयलाई म विशेष धन्यवाद भन्न चाहन्छु । यी कुराहरुको अर्थ हो, तपाईंहरु सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस् । प्रसन्न चित्त रहन सकेन भने ‘डिप्रेसन’ भनेको त्यही हो । चित्त अर्कासँग हुँदैन, आफैँसँग हुन्छ । अरू बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठीक ठाउँमा राख्न सक्नु हुन्न भने के ठीक राख्नु हुन्छ त ? श्रीमान्को असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने ? त्यसकारण ‘बी ह्याप्पी’ (प्रसन्न हुनुस्) । प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्दछु । आज विश्व जनसङ्ख्या दिवस, डेमोग्राफिक इस्यूमा विशेष ध्यान दिऊँ । हाम्रो युवा पुस्तालाई जनसङ्ख्याप्रति सजग रहन सचेत गराऔँ । (प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार, २०८२ मा जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गरेको विचारका आधारमा तयार गरिएको)
पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा
काठमाडौं । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ । तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । विभागका बाढीविज्ञ विनोद पराजुलीले सुप्राग्लेसियर ताल फुट्दा बाढी आएको भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहबाट करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्छ । हिमनदीको करिब बीच भागमा विकास भएको सुप्राग्लेसियर ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ’, उनले भने, ‘अहिले उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटरमात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलका क्षेत्रमा परेको देखिएको छ ।’ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियर ताल’ फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् । गत साउन ३२ गते दिउँसो १ः३० बजेतिर सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीको घटना नसेलाउँदै फेरि रसुवामा आएको बाढीले त्रास फैलाएको छ । थामेमा पनि स्थानीयले यसरी एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको थामेको दृश्यले जोकोहीको मन पनि भक्कानिन्छ अझैसम्म । हालैका यी घटना (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरूबाट भएको इसिमोडले पुष्टि गरिसकेको छ । इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिजछो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झण्डै ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो । त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै मेलम्ची, वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जलवायु परिवर्तनका कारण हिउँ पग्लिनु, हिमताल विस्फोट हुनुजस्ता शृङ्खलाबद्ध असरको सुरुआत भएको भन्दै यसको ठूलो क्षति तल्लो क्षेत्रमा पर्न जाने बताए । ‘हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ’, उनले भने । सुप्राग्लेसियर ताल इसिमोडका अनुसार सुप्राग्लेसियर ताल हिमनदीको सतहमा बन्ने, विशेष गरी ढुङ्गामाटोले ढाकिएका क्षेत्रमा देखिने जलासय हुन् । यी ताल अस्थायी र गतिशील हुने र सानो पानीको पोखरीका रूपमा सुरु भएर ठूलो तालमा परिणत हुन सक्छन् । उपग्रहबाट यस्ता ताल देख्न गाह्रो हुन्छ । विशेषगरी ल्यान्डसेट र सेन्टिनेल टुजस्ता माध्यमबाट ताल देख्न सकिन्छ । डिसेम्बर २०२४ मा देखिएको उक्त ताल सानो पोखरी थियो । जुन २०२५ को जुनमा तीव्र रूपमा फैलिएको हो । तापमान वृद्धिको कारण हिमतालविज्ञ शरद्प्रसाद जोशीले तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको बताए । ‘हिमनदी तालहरूको नक्साङ्कन र निरन्तर अनुगमन, खतरनाक तालहरूको सूचीलाई नियमित अद्यावधिक गर्न जरुरी रहेको छ । छोटो समय टिक्ने तालमा पनि अनुसन्धान गर्न आवश्यक छ’, उनले भने, ‘हिमनदी पग्लनुको गति र ताल निर्माणको प्रक्रियालाई जोखिम मूल्याङ्कनमा समावेश गर्न आवश्यक छ ।’ उनका अनुसार छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, पर्खाल भत्किने, चट्टान खस्ने, जमिन भासिने घटना निम्त्याउँछ । इसिमोडका अनुसार हालका घटनामा बाढीले गिट्टी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानीमात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटना बढ्ने इसिमोडको निष्कर्ष छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गरेको छ । सन् २०२४ को गत जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्तिअघिभन्दा १.५४ (+०.१३) सेल्सियसले बढी भएको देखाएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको डब्लुएमओले बताएको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता गरेको छ । यसले जलवायु परिवर्तनको तीव्रगति र यसको असरलाई थप प्रस्ट्याएको छ । एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४.७७ मिमी बढेको छ । यसैगरी २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । इसिमोडको अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । बढ्दो हिमनदीजन्य विपद् इसिमोडका विज्ञहरू नै हिमनदीजन्य विपद्को आवृत्ति देखेर चकित भएको बताउँछन् । इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख सास्वत सन्यालले सन् २००० को दशकमा यस्ता घटना हिन्दूकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एकपटक हुने अपेक्षा गरिए पनि पछिल्लो समय बढ्दै गएको बताउँछन् । ‘तर २०२५ को मे र जुन दुई महिनामा मात्र हिमनदीजन्य बाढी तीनवटा देशमा (नेपालको हुम्लास्थित लिमी, अफगानिस्तानको एन्डोराब उपत्यका, पाकिस्तानको चित्राल/हुनजा)आएको छ’, उनले भने । सोमबार (असार २४) नेपालमा मात्र दुईवटा बाढी, रसुवा र माथिल्लो मुस्ताङमा देखापरका थिए । अध्ययनले २१औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ । ‘यी घटना तीव्र रूपमा बढिरहेका छन्, जुन हिन्दूकुश–हिमालय क्षेत्रमा पहिले कहिल्यै देखिएको थिएन । हामीले यस्ता शृङ्खलाबद्ध विपद्को कारणलाई अझ गहन रूपमा बुझ्न आवश्यक छ’, सन्यालले भने, ‘लुकेका तालहरूले अहिले पनि ठूलो विनाश गरिरहेका छन् ।’ पूर्वसूचना प्रणालीको अभाव जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली छैन । ‘हामी यस्तो विशाल हिमाली क्षेत्रको कुरा गर्दैछौँ जहाँ जताततै यस्ता तालहरू बन्न सक्छन् । यति छिटोछिटो हुने परिवर्तनलाई समेट्ने प्रविधि र डाटा प्रणाली अहिलेसम्म विकसित भइसकेको छैन’, इसिमोडका जलवायु तथा वातावरणीय जोखिमविद् च्याङ्गो झाङले भने । जोखिम घटाउन जुटेको लगानी हरित जलवायु कोष (जिसएफ)बाट नेपालले जोखिममा रहेका चारवटा हिमतालको सतह घटाउनका लागि करिब पाँच अर्बको अनुदान पाउने निश्चित भएको छ । केही दिनअघि पपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत भएसँगै अब जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न लागत व्यवस्थापन भएको हो । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी)को तर्फबाट जिसिएफको वैकल्पिक बोर्ड सदस्यसमेत रहेका वन तथा तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका निवर्तमान प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले परियोजनाको कार्यान्वयनबाट हिमताल विष्फोटको जोखिम घटाएर नेपाललाई हुनसक्ने सम्भावित क्षति कम गर्न सकिने बताए । नेपालको राष्ट्रिय अनुकूलन योजनामा समेत गम्भीरतापूर्वक राखिएको हिमताल विष्फोटको जोखिममा यस्ता दर्जनौँ अरू परियोजनाको खाँचो रहेको उनको भनाइ छ । यस परियोजनमा नेपाल सरकार, यूएनडीपी, स्वतन्त्र ऊर्जा उत्पादक संघले एक करोड ३८ लाख अमेरिकी डलर अर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो परियोजना सरकारको तर्फबाट कोषको सम्बन्धनप्राप्त निकायका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले पेस गरेको हो । नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरेको थियो । ४७ वटा हिमतालको जोखिम अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल फुट्न सक्ने बताएको छ । यूएनडीपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमताल जुनसुकै बेला पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ । तिनीहरूमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन्, जसले ठूलो मात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययानले देखाएको छ । प्रतिवेदनले जोखिममा रहेका हिमताल फुट्दा नेपालले विलियन डलरभन्दा बढी वित्तीय क्षति व्यहोर्नुपर्ने र ठूलो मानवीय क्षति पनि गर्न सक्ने उल्लेख गरेको छ । प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ । पर्वत जोगाउने पैरवी हरेक वर्ष विभिन्न मुलुकमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको शिखर सम्मेलन (कोप) हुने गर्छ । कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायुजन्य सङ्कटबाट नेपालका पर्वतीय क्षेत्रहरूलाई जोगाउन विश्व समुदायको सहयोग चाहिने भन्दै पैरवी गर्दै आइरहेको छ । जलवायु परिवर्तन गराउन नगन्य भूमिका खेले पनि हिउँ पग्लने, हिमताल विस्फोटजस्ता जलवायुजन्य घटनाले नेपाललाई ठूलो नोक्सान पुग्न सक्ने भन्दै विश्व समुदायको ध्यानाकर्षण गर्दै आइरहेको छ । यही जेठ पहिलो साता पनि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु सङ्कटका उदाहरण प्रस्तुत गरेर जलवायु न्यायका लागि आवाज उठाउन सगरमाथा संवादको आयोजना गरेको थियो । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले सगरमाथा संवादले उच्च भूभाग (हिमाली क्षेत्र) र तल्लो भूभाग (तराई, समुद्री सतह)बीचको सम्बन्ध–हिमदेखि समुद्र, माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा पर्ने प्रभावलाई क्षेत्रीय तहमा उठाएको बताए । ‘संवादले जलवायु न्याय, मानवताको भावना र क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपनाउनुपर्ने एजेण्डा उठाएको थियो, हामीले पर्वत जोगाउने पैरवीस्वरूप संवाद आयोजना गरेका थियौँ’, उनले भने । वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राजेशकुमार राईले जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशहरूको अर्थतन्त्रमा गहिरो असर पारिरहेका भन्दै सगरमाथा संवादले जलवायु परिवर्तनका कारण हिमाली अर्थतन्त्रमा परेको असरलाई अन्तर्राष्ट्रियकरण गरेको बताए । रासस
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे । आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको जानकारी दिए ।