भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे । आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको जानकारी दिए ।     

रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट

काठमाडौं । भू-उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ।  जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रबल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताइएको छ । स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले यसबारे पुष्टि गरेका छन् । जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले स्याटलाईट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने बताए । सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिर्वतनको अवस्थितिको सूक्ष्म विश्लेषण भने भइरहेको पनि उनले जानकारी दिए । साथै यो ताल धेरै पुरानो पनि नभएको देखिएको उनले स्पष्ट पारे । स्याटलाईट तस्विरहरू हेर्दा सो क्षेत्रमा धेरै ताल रहेको देखिएको पनि उनले बताए ।  ‘सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिले सम्मको प्रारम्भिक अध्ययनले देखिन्छ । त्यो स्थानमा भारी बर्षा पनि नभएको र स्याटलाईट तस्बिरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ', उनले भने, 'विस्फोट अघि र पछिको सो स्थानको वस्तुस्थिति विश्लेषण गर्दा यो देखिन्छ। पहिला र पछिको तस्बिरमा बाढीका तहगत संकेतहरू देखापरेको छ । यो नै  विस्फोटकै कारण बाढी आएको भन्ने भनाइको सत्यता नजिक छ ।’

खेलाडीहरू अब खेल खेलेरे बाँच्नसक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताए । धेरै देशहरूमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा नेपालमा संगठित रुमपा खेल अघि बढेको धेरै समय नरहेको बताए । खेलाडीहरु अब खेल खेलेरे बाँच्न सकिन्छ भन्ने स्तरमा पुगेको बताए । पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको बताए । परिणामतः नेपालले सफलता हाँसिल गर्दै गएको जिकिर गरे ।  प्रधानमन्त्री ओलीले भने, ‘खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरु धेरै देशहरुमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठित रुमपा खेल अघि बढाएको थिएन । पछिल्लो समयमा बढाएपनि त्यसमा पर्याप्त ध्यान गएको थिएन । खेलकुद सुविधाको हिसावले पनि हामीसँग जम्मा एउटा दशरथ रंगशाला थियो, फुटबलका लागि, केही इण्डोर्स खेलहरुका लागि पनि । तर क्रिकेटले पछि आएपनि धेरै राम्रो सफलता प्राप्त गर्दै गएको छ ।’ प्रधानमन्त्री ओलीले गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्र्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे । यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एशियन कबड्डी च्याम्पियन (महिला) मा काँस्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।  यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।