सोमबार पूँजीबजार नीति आउने, जलविद्युत कम्पनीको नियमनमा कडाई र प्रिमियम मूल्य निर्धारणमा नयाँ विधि
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको श्रोतले बतायो । धितोपत्र बोर्ड उच्च श्रोतका अनुसार बैंक तथा वित्तिय क्षेत्र र बीमा कम्पनी बाहेकका अन्य क्षेत्रहरुको नियमनका लागि पनि पुँजी बजार नीतिमा कडा व्यवस्था अघि सारिँदैछ । मुलतः जलविद्युत कम्पनीहरु तथा उत्पादन मुलक अन्य कम्पनीहरुको नियमनमा बिशेष कडाई गर्ने योजना पुँजी बजार नीतिमा समेटिएको छ । त्यस्तै, आईपीओको प्रीमियम मूल्य तथा एफपीओको मूल्य निर्धारणका लागि आगामी आर्थिक बर्षभित्रै बुक बिल्डिङको नियम लागु गर्ने योजना पनि समेटिएको छ । ‘प्राथमिक र दोश्रो बजारलाई देश व्यापी बनाउने, लगानीकर्ताको मनोबल बढाउने पुँजी बजारलाई लगानीको विश्वासिलो बिकल्पका रुपमा स्थापित गराउने योजना आउँछ ।’, धितोपत्र बोर्ड श्रोतले भन्यो । सोमबार सार्वजनिक हुने पुँजी बजार नीतिलाई धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन समेत गरिसकेको छ ।
बजारमा ४८ करोडको सेयर कारोबार, सबैभन्दा बढी छिमेक लघुवित्तको
काठमाडौं । आइतबारको सेयर बजारमा ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २ करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर उतारचढाव आएको आइतबारको बजारमा १६८ कम्पनीको १२ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६३ रुपैयाँ रहेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य ०.०२ अंकले घटेर १२२४ अंकमा झरेको छ । झिनो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी बीमा समूह २३ अंकले घटेका छन् । होटल ४१, उत्पादनमूलक ३० र अन्य समूह १.३५ अंकले उकालो लागेका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ६० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३९२ रुपैयाँ रहेको थियो । लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।