नेप्से परिसूचक सामान्य अंकले बढ्यो, २ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । सोमबार दोहोरो अंकले उकालो लागेको बजार मंगलबार सामान्य ४.७७ अंकले बढेर ११९९.२७ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार ०.४० प्रतिशतले बढेको छ । कारोबार खुलेदेखि उकालो लाग्ने क्रममा रहेको बजार १२१२ अंकमा पुगेर ओरालो लागेको छ । अन्तत कारोबार बन्द हुँदा परिसूचक ११९९.२७ अंकमा अडेको छ । दिनभरको कारोबारमा १६० कम्पनीको ११ लाख ८९ हजार कित्ता सेयर २९ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । यस बैंकको एक करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । नयाँ नेपाल लघुवित्त विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले एकैदिन क्रमशः ९.९९ र ९.६० प्रतिशत कमाएका छन् । भार्गव विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन् । कम्पनीले ५.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७ प्रतिशत रहेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यसैगरी, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले एकैदिन ९.८५९ प्रतिशत गुमाएका छन् । मंगलबार कारोबार आएका दुई समूह बाहेक बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ४९ अंकले उकालो लागेको छ । त्यसैगरी, जिवन बीमा समूह २० र निर्जीवन बीमा समूहको परिसूचक १९ अंकले बढेको छ । उता उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १९ र ०.७ अंकले राताम्मे भएका छन् ।
सेयर बजार बढ्दा राकेश झुनझुनवालाले ३५ अर्ब भारु कमाए, आम्दानी ७० प्रतिशत बढ्यो
एजेन्सी । भारतका सेयर लगानीकर्ता राकेश झुनझुनवालाले गत वर्ष मात्र सेयर कारोबारबाट ७० प्रतिशत कमाएका छन् । एस इन्भेष्टर्सका प्रमुख राकेश आफुले सन् २०१७ मा प्राप्त गरेको आम्दानी अप्रत्यशित भएको बताएका हुन् । उनले १०० भारु लगानी गरेर थप ७० भारु कमाएको फाइनान्सियल एक्सप्रेसले लेखेको छ । ७० प्रतिशत नाफा जीवनमा सधै नआउने राकेशले बताएका छन् । रोचक कुरा गत वर्ष सेयर बजार बढेपछि उनीलगायत अन्य ४ जना सेयर लगानीकर्ताले आम्दानी दोब्बर बढाएका छन् । राकेशको मनपर्ने स्क्रिप टिटानको मूल्य १६० प्रतिशतसम्म बढेको थियो । टिटान एक्लेले एस इन्भेष्टर्सलाई ३५ अर्ब भारु धनी बनाएको छ । अघिल्लो साता सेयर बजार बढेपछि रिलायन्स इण्डष्ट्रिजका प्रमुख मुकेश अम्बानीको सम्पत्ति बढेर ४४ अर्ब ३० करोड डलर पुगेको छ । मुकेश एसियाका सबैभन्दा धनी व्यक्ति भएका छन् ।
बजार दोहोरो अंकले घट्दा एनसीसी बैंकको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबारकाे बजार कारोबार खुलेदेखि अन्त्य सम्म निरन्तर रुपमा ओरालो लागेकोे छ । सो दिनको नेप्से परिसूचक ११.७३ अंकले घटेर ११८१ अंकमा झरेको छ । बजारमा कुल १६३ कम्पनीको २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक(एनसीसी) बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको एक करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । सो दिन फाइनान्स बाहेक बाँकी समूह राताम्मे भएका छन् । फाइनान्स समूह २.९९ अंकले उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन लाइफ इन्स्यारेन्स समूहको सूचक ११० अंकले घटेको छ । सबैभन्दा बढी तिनाउँ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४७ प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४.८३ प्रतिशतले घटेको छ ।