मेरो माइक्रोफाइनान्सले २६ प्रतिशत लाभांश दिने, पुँजी ३२ करोड ८९ लाख नाघ्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंगलबार(आज) बिहान बसेको संस्थाको ७२औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ रहेको छ ।

जनसेवी लघुवित्तको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल, ४ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले सर्वसाधारणको लागि छुट्याएको ४ लाख २० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन(आईपीओ) गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा जनसेवी लघुवित्तकातर्फबाट प्रमुखकार्यकारी अधिकृत कमलबहादुर खत्री तथा निष्काशन तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । हाल संस्थाको अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी १४ करोड रुपैयाँ रहेको छ । संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई ४ करोड २० लाख रुपैयाँको सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी १४ करोड रुपैयाँ पुग्ने छ ।

नेप्से दोहोरो अंकले उकालो, सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्सको सेयर कारोबार

काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको बजार सोमबार दोहोरो अंकले बढेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको सोमबारको बजार अन्ततः बजार बन्द हुँदा नेप्से १०.४३ अंकले उकालो लागेर ११७४ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशतको वृद्धि भएको छ । दिनभरको कारोबारमा १५७ कम्पनीको १६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ९४७ रुपैयाँ रहेको छ । त्यसैगरी एभरेष्ट बैंकको ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १० समूह कारोबारमा आएका छन् । जसमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स(जिवन बीमा) समूह ११० अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७५ अंकले हरियो भएको छ । सो दिन होटल समूह बाहेक बाँकी समूहका सूचक हरिया भएका छन् । त्यसैगरी, दोहोरो अंकले बढेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.०४ प्रतिशत कमाएका छन् । उता सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ ।