सेयरकर्जामा ४६२ प्रतिशत गिरावट, यो वर्ष तङग्रिएला बजार ?
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा बैंक तथा वित्तीय संस्थाले दिने सेयरधितो कर्जामा ( मार्जिननेचर लोन) भारी गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयरधितो कर्जा ४६२ प्रतिशत घटेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाले ६० करोड ९६ लाख रुपैयाँ मात्र सेयरधितोमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका थिए । हालसम्म बैंकको सेयरमा लगानी ४१ अर्ब ८ करोड रुपैयाँ हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ४० अर्ब ४७ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको थियो । लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) संकटले अघिल्लो वर्षको तुलनामा सेयरधितो लगानीमा भारी गिरावट आएको हो । क्रेडिट क्रन्चले गर्दा कर्जाको ब्याजदर बढेको छ । ब्याजदरका कारण सेयरमा लगानी गर्दा प्रतिफल ऋणात्मक हुने अवस्था आएपछि बजारमा ठुला लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न सकेको छैन । बुधबार नेप्से परिसुचक घटेर १ हजार १८२ अंकमा झरेको छ । राष्ट्र बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा गणना गरेपछि यसको असर बजारमा परेको हो । अघिल्लो वर्ष ७.५ प्रतिशत बढेको बजार गत वर्ष १.५ प्रतिशत मात्र बढेको छ । सेयरधितो कर्जासीमा ५० प्रतिशत कायम गरिएको छ । यता लगानीकर्ताले यसको सीमा बढाएर ७० प्रतिशत पुर्याउन माग गरेका थिए । क्रेडिट क्रन्च भएपछि कर्जाको ब्याजदर दोब्बर बढ्दा सेयरमा लगानी बढ्न नसकेको हो । ब्याजदर बढ्ने र बजार घट्दै गएपछि लगानीकर्ताले बैंकबाट ऋण लिन सकेनन् । बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको थियो । लगानीकर्ताको मागलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि सम्बोधन गरेन । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । हाल बैंकको ब्याजदर औसत १३ प्रतिशत हाराहारीमा रहेको छ ।
एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
लुम्बिनी विकास बैंक र ग्रामीण लघुवित्तले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?
काठमाडौं । लुम्बिनी विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ-आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै संस्थाले आइतबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् । सो प्रयोजनको लागि लुम्बिनी विकास बैंकले आगामी भदौ १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बस्दै छ । त्यस्तै, ग्रामीण विकास लघुवित्त पनि आगमी असोज ६ गते संस्थाको वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि भदौ १८ गतेदेखि असोज ६ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ ।