एक सातादेखि सेयर बजारमा हरियाली, लगानीकर्तामा ल्यायो उत्साह, बुधबार २४ अंकले बढ्याे
काठमाडौं । साताको शुरुवातदेखि सेयर बजार उकालो लाग्ने क्रममा रहेको छ । तीन दिन लगातार बढेको बजार साताको दोश्रो अन्तिम दिन पनि नेप्से २३.८९ अंकले उकालो लागेर १२३४ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढेकाे हाे । बैंक तथा वित्तीय कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा सुधारात्मक संकेत देखिएको लगानीकर्ताले बताएका छन् । त्यस्तै, बजारमा सेयरको मूल्य सस्तिदै गएपछि केही दिनदेखि लगानीकर्ताहरु बाणिज्य बैंकको सेयरप्रति आकर्षित भएका हुन् । लगानीकर्ता अाकर्षित भएपछि वाणिज्य बैंककाे काराेबार रकम र सेयर मूल्यमा सुधार अाएकाे छ । बुधबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । कुल १६७ कम्पनीको कारोबार भएको बजारमा ७० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी कुमारी बैंकको एकैदिन ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ रहेको छ । उत्पादनमूलक र ट्रेडिङ बाहेक कारोबारमा आएका बाँकी समूहहरु उकालो लागेका छन् । सबैभन्दा बढी निर्जिवन बीमाको समूह १६२ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा ९५, माइक्रोफाइनान्स ४२, हाइड्रोपावर ३९ र डेभलपमेन्ट बैंक समूहको सूचक ३० अंकले उकालो लागेका छन् । बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ९.७५ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ८.४७ र ८.३३ प्रतिशत कमाएका छन् ।
बजारमा सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री, यी हुन् कमाउने १० कम्पनीहरु
काठमाडौं । मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री भएका छन् । एकैदिन बैंकको १० करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । कुल १७२ कम्पनीको कारोबार भएको दिनभरको बजारमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो । सामान्य अंकले बढेको सेयर बजारमा काबेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बैंकका लगानीकर्ताले एकैदिन ९.२६ प्रतिशत बढी कमाएका छन् । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ रहेको छ । यस विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस दिने भएको छ । मंगलबार कमाउने १० उत्कृष्ट कम्पनीहरु त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताले ७.९३ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२६ रुपैयाँ रहेको छ । साथै, एनआईसी एशिया, लक्ष्मी र सिभिल बैंकको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले सोमबारको तुलनामा ३.९८ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक १६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ्, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने जलविद्युत्, उत्पादनमूलक, माइक्रोफाइनान्स र जीवन बीमा समूह सामान्य अंकले ओरालो लागेका छन् ।
नेप्से १५ अंकले बढ्दा नेपाल लाइफको बढी कारोबार, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि
काठमाडौं । साताको दोश्रो दिन पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबारको नेप्से परिसूचक १५.९८ अंकले उकालो लागेर १२०६.२६ अंकमा पुगेको छ । कारोबार खुलेदेखि बढ्ने क्रममा रहेको बजार साढे १ बजेपछि केही बेर ओरालो लागेको थियो । त्यसपछि कारोबार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा झण्डै १६ अंकले बढेको हो । दोहारो अंकको वृद्धि आएको बजारमा कारोबार रकममा पनि केही सुधार भएको देखिन्छ । सोमबारको बजारमा कुल १६९ कम्पनीको ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा दुई कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको वृद्धि भएको छ । ती मध्ये लक्ष्मी बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत र काबेली विकास बैंकका सेयरधनीले ९.६४ प्रतिशत कमाएका छन् । काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरप्रति आकर्षित भएका हुन् । बैंकले सोमबार बिहान मात्रै नेप्सेमा सो मात्राको बोनस दिने घोषणा सार्वजनिक गरेको थियो ।