नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्ता प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । संस्थाको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले मंसिर १५ गते बुक क्लोज गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ नाघ्ने छ ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।
एनआईसी एशिया बैंकको बोनसमा लाभिए लगानीकर्ता, २ करोड बढीको सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजार घटेपनि लगानीकर्ता एनआईसी एशिया बैंकको लाभांशमा लोभिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बैंकले गत शुक्रबार सेयरधनीलार्इ सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणासँगै कम्पनीको २ करोड ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ७० हजार ६७५ कित्ता सेयर बिक्री भएका छन् । बैंकको सेयर कारोबार सँगसगै सेयर मूल्यमा पनि वृद्धि भएको छ । जसको सेयर मूल्य ५ रुपैयाँले बढेर प्रतिकित्ता ४२२ रुपैयाँमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२० प्रतिशत बढी हो । आइतबारको बजारमा कुल १४५ कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसपछि बढी कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक १०.१४ अंकले ११९४ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह २९ अंकले घटेको छ । सो दिन ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सामान्य ०.८४ अंकले उकालो लागेको छ ।