गुराँस लघुवित्तले साँढे २ करोड आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ५० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागेको हो । सो मात्रको सेयर निष्काशन गर्न संस्थाले एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल गुराँस लघुवित्तको अधिकृत पुँजी १० करोड र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, चुक्तापुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
‘अनलाइन कारोबार तालिम’ आइतबार ३ बजेदेखि, दिनमा ५० जनालार्इ मात्र तालिम
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि अनलाइन ट्रेडिङका लागि आधारभूत तालिम दिने भएको छ । नेप्सेले आगामी आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन दिउँसोको ३ बजे उक्त तालिम सञ्चालन गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि गौतमले जानकारी दिए । कार्यक्रमका लागि नेप्सेले आफ्नै भवनमा ५०/६० जनासम्म अट्ने हलको व्यवस्था गरेको गौतमको भनाई थियो । इच्छुक लगानीकर्ताले निःशुल्क रुपमा उक्त तालिम लिनसक्ने नेप्सेले जनाएको छ । तालिममा आधारभूत विषयमा जानकारी दिने भएकोले लगानीकर्ताले १ दिनको तालिममै कारोबारसम्बन्धी सम्पूर्ण जानकारी पाउने नेप्सेको विश्वास छ । फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउने बानी परेकाहरुलाई भने त्योस्तो तालिमको आवश्यकता नपर्ने बरु नेप्सेले दिएको सुझावहरुका आधारमै कारोबारमा सहभागिता जनाउन सक्ने प्रवक्ता गौतमको भनाई थियो । त्यसबारेको विस्तृत जानकारी नेप्सेले केही समयपछि आफ्नो वेभसाइटमा प्रकाशित गर्नेछ ।
४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग, रेटिङ्ग व्यवसायको दायरा फराकिलो बन्दै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग भएको छ । वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नुपर्ने व्यवस्था शुरु भएअनुसार गत कात्तिकसम्म सो मात्राको रेटिङ्ग भएको हो । त्यस्तै, सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सार्वजनिक निष्काशनको सात वटा रेटिङ्ग भएको थियो । बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली तथा धितोपत्र सूचीकरण विनियमावलीमा सूचिकृत कम्पनीहरुको रेटिङ्गको आधारमा नेप्सेमा “ए” र “बी” वर्गमा वर्गीकरण हुने व्यवस्था गरेको थियो । सोही बमोजिम सूचिकृत कम्पनीहरुले रेटिङ्ग गरी सोको आधारमा नेप्सेले वर्गीकरण गर्ने काम शुरु गरिसकेको छ । बुधबार क्रेडिट रेटिङ्ग व्यवसायको वर्तमान अवस्था तथा सोको विविधपक्षहरुकोे सम्वन्धमा क्रेडिट रेटिङ्ग कम्पनीसँग भएकाे छलफल/अन्तर्क्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हाे । कार्यक्रममा इक्रा नेपाल लिमिटेडका विज्ञ किशोरप्रसाद विमली तथा केयर रेटिङ्गस नेपाल लिमिटेडका कार्यकारी प्रमुख साजन गोयलले इन्डष्ट्रियल रिक्स, बिजनेस रिक्स, म्यानेजमेन्ट रिक्स, फाइनान्ससियल रिक्स र प्रोजेक्ट रिक्सका सूचकहरुको आधारमा रेटिङ्ग गरिने जानकारी गराएका छन् । कार्यक्रमको शुरूवात गर्दै बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने बोर्डको कार्यक्रम बमोजिम वित्तीय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने बताएका छन् । साथै, स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताएका बोर्डका अध्यक्ष कार्कीले दावी गरेका छन् । गत वर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त गरेको हुँदा क्रेडिट रेटिङ्ग कम्पनी दुई भई क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भएकाे छ । हाल बोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र दिईसकेको छ ।