दोस्रो बजारमा वाणिज्य बैंकको सेयर मूल्य सस्तियाे, हेराैँ कसकाे कति पुग्याे ?

काठमाडौं । सेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आकर्षक मानिएका वाणिज्य बैंकको सेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको सेयर २०० रुपैयाँ भन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको १७४ रुपैयाँ, एनसीसी बैंकको १९९ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको १८९ रुपैयाँ, मेघा बैंकको १८६ रुपैयाँमा कारोवार भएको छ । सिटिजन बैंकको रु २२२, कुमारी बैंक रु २४०, प्रभु बैंक रु २४०, सनराइज बैंकको प्रतिकित्ता रु २१६ मा कारोवार भएको छ । सिद्धार्थ बैंक रु ३०५, एनएमबी बैंंक रु ३५६, एनआइसी एशिया रु ३५७, नेपाल एसबिआइ बैंक रु ३९४, प्राइम कर्मसियल बैंक रु ३१५ मा खरीद बिक्री भएको छ । माछापुच्छ्रे बैंककाे रु २०४ र कुमारी बैंककाे सेयर प्रतिकित्ता २४० मा कारोवार भएको छ । कृषि विकास बैंक रु ३२७, बैंक अफ काठमाडौँ रु ३०५ मा कारोवार भएका छन् । ग्लोबल आइएमइ बैंक रु ३१४, हिमालयन बैंक रु ४४७ र सिद्धार्थ बैंकको सेयर मूल्य रु ३०५ रूपैयाँ रहेकाे छ । यस्तै, केही बैंकका सेयर मात्रै रु ५०० भन्दामाथि रहेका छन् । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डार्ड चार्टड बैंक, एभरेष्ट बैंकको सेयर मात्रै उक्त बिन्दुभन्दा माथि रहेको छ । बिहीबार कारोवार भएका आधारमा नवील बैंक रु ८५०, नेपाल इन्भेष्टमेन्ट बैंक रु ६१९, एभरेष्ट बैंक रु ५२४, स्ट्याण्डाड बैंकको सेयर प्रतिकित्ता ५६५ रुपैयाँमा खरीद बिक्री भएका छन् । विगत डेढ वर्षदेखि निरन्तर बजार ओरालो लाग्दा त्यसको प्रभाव लगानीकर्तामा समेत परेको छ । सरकारले बिहीबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वमा वित्तीय क्षेत्र र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, लगानीकर्ताका प्रतिनिधि सम्मिलित छन् । रासस

सान्जेन जलविद्युतको बिक्री प्रबन्धकमा सनराईज र एनएमबि क्यापिटल नियुक्त, ९१ लाख २५ हजार कित्ता सेयर जारी गर्दै

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्दै छ । सान्जेनले दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि ३६ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो, लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन बाटो खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिए । उनले नयाँ प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको प्रतिक्रिया दिए । धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद/बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो । स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ । नेप्सेले नयाँ प्रणालीको माध्यमबाट धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोवार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका कार्य गर्न सक्ने व्यवस्था छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आउँदा ती विषयमा धेरैले थाहा नै पाएका थिएनन् । स्टकले परीक्षण कारोवार(मोक ट्रेडिङ) गराएको थियो । तर, कारोवारमा रहेका धेरै नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्यो । कारोवारमा समेत केही समस्या देखिएको थियो । नेप्सेको डिस्प्लेमा कारोवारको सही तथ्याङ्क नदेखिँदा लगानीकर्तामा अन्योल बढाइदिएको थियो । स्टकका प्रवक्ता पराजुलीले सबै खालका समस्या समाधान भएको र अब पूर्णरुपमा नयाँ प्रणाली सञ्चालन भएको बताए। लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी सेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् । नेप्सेले विगत दुई दशकदेखि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ । पछिल्लो प्राविधिक विकासलाई आत्मसात गर्दै जाने क्रममा ती प्रविधि प्रयोगमा ल्याइएका हुन् । विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने व्यवस्था थियो । यस्तै २०६४ सालदेखि सेमी अटोमेटेड ट्रेडिङ सिष्टम सञ्चालनमा ल्याएको थियो । यस्तै २०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा दिएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका थिए । पछिल्लो पटक नयाँ प्रणाली शुरु भएपछि कारोवार रकममा वृद्धि भएको छ । सेयर कारोवारको सङ्ख्यासमेत बढेको छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते कूल तीन करोड रूपैयाँको कारोवार भएको थियो । सो प्रणालीको शुरूवात भएलगत्तै तिहार बिदा भयो । तिहार बिदालगत्तै खुलेको बजारमा रु १० करोडको कारोवार भयो । क्रमशः कारोवार रकम र कारोवार सङ्ख्यामा वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ । नयाँ प्रणालीबाट सेयर कारोवार गर्न एक पटक मात्रै धितोपत्र दलाल व्यवसायीकोमा युजर नेम र पासवर्ड लिए हुन्छ । सो प्रणालीबाट घर, कार्यालय वा विदेशबाट पनि सेयर खरीद गर्न वा बिक्री गर्न सकिन्छ । त्यसका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम भने हुनु आवश्यक पर्दछ । रासस