नागरिक लगानी कोषको मंसिर १६ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ । कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी पुस ६ गते २३औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा बस्ने छ ।

बजार १४ अंकले घट्यो, सबै सूचक राताम्मे

काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ । बजार कुल १५४ कम्पनीको २५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी एनएमबी बैंकको ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक ५०, जीवन बीमा ४४, होटल २८, हाइड्रोपावर २४ र माइक्रोफाइनान्स २२ अंकले घटेका छन् । अन्य बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् ।

मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।