ब्रोकरलाई आन्दोलन नगर्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको सेयर बजारको समस्यालाई लिएर आन्दोलन नगर्न दलाल व्यवसायी(ब्रोकर) हरुलाई आग्रह गरेको छ । बोर्डले मंगलबार एक विज्ञप्ति मार्फत पूँजीबजार सम्बन्धी कार्यदलको सुझाव अनुसार नेपाल सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेकोले यस विषयमा आन्दोलन गरेर ठूलो नबनाउन व्यवसायीहरुलाई आग्रह गरेको हो । साथै, व्यवसायीहरुले गर्नेे आन्दोलनले प्रत्यक्ष रुपमा लगानीकर्ताहरुलाई असुविधा भई बजारमा थप समस्या सिर्जना हुनुका साथै राष्ट्रिय विकासको काममा समेत अवरोध हुने बोर्डले जानकारी गराएको छ । यसकारण बोर्डले सम्वन्धित पक्षहरुलाई संयमित भई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न आग्रह गरेको छ । नियामक निकायको तर्फबाट बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा बजार विकास तथा विस्तारका सम्वन्धमा दिएका अभिव्यक्तिलाई अन्यथा रुपमा नलिन बोर्डले बताएको छ । बोर्डका अध्यक्ष कार्कीले गत फागुन ७ मा प्रतिनिधि सभाको अर्थ समितिले आयोजना गरेको पूँजी बजारमा देखिएको समस्या सम्वन्धी छलफल कार्यक्रममा सो कुरा बताएका थिए । देशमा आएको राजनैतिक स्थायित्वसँगै ब्रोकरसहित बजार सहभागीहरुको सहयोगमा हाल पूँजीबजारका विविध पक्षहरुको सुधार र विकास भइरहको छ । साथै, बजार सुधारको लागि थप स्वायत्तता प्रदान गरी यसको काम कारवाहीलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले धितोपत्र सम्वन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइसकेको बोर्डले जनाएको छ । साथै, बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र ब्रोकरलाई निर्देशन दिइएको छ । सो कार्यान्वयनमा आउन लागेको, धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको छ । त्यस्तै, अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि बढाइरहेको छ ।ब्रोकरलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाई सम्वद्घ पक्षहरुको राय सुझावको लागि अनुरोध समेत गरेको बोर्डले जनाएको छ । यसरी बजारको विकास र विस्तार तथा देखिएका व्यवसायिक समस्याहरुको समाधानको लागि विभिन्न छलफलबाट त्यसलाई निराकरण गर्न बोर्ड सधै तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

नेप्से घटेर ११०० अंक नजिक, कारोबार रकम साढे १६ करोडमा सीमित

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक घटेर ११०० नजिक पुगेको छ । केही दिनयता उतारचढाव देखिएको बजारमा मंगलबारको नेप्से ७.१७ अंकले घटेर ११०२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकमपनि १६ करोडमा खुम्चिएको छ । सोमबार २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार जम्मा १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा ४ करोड रुपैयाँ घटी हो । बजारमा कुल १६५ कम्पनीको ६ लाख ५३ कित्ता सेयर बिक्री भएको छ । सो दिन कारोबारमा आएका १० वटै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४५ अंकले घटेर ५३०० अंकमा झरेको छ । राताम्मे भएको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६२ रुपैयाँ पुगेको छ । अपर तामाकोशी हाइड्रोपावरको ७५ लाख ९७ हजार कित्ता सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । मंगलबार हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको छ ।

नागबेली लघुवित्तको साधारणसभा चैत १५ गते, फागुन २९ देखि बुक क्लोज

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आगामी नवौँ वार्षिक साधारणसभा चैत १५ गते बस्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले फागुन २९ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्दै छ । उक्त सभाले सेयरधनीलाई गतबर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ रहेका छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ कायम हुनेछ । साथै, उक्त पुँजीको २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद जारी गर्ने संचालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गर्ने भएको छ । संस्थाको सभा चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको विर्तामोडमा अवस्थित आदर्श बैंकेटमा बस्दै छ ।