स्पर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त सेयर निष्कासन बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्म ५८ करोड रुपैयाँ बराबरको आवेदन भइसकेको छ । जुन मागभन्दा २३ गुणा बढी हो । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । इच्छुक लगानीकर्ताले बुधबार बैंकिङ कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म सेयर भर्न पाइने छ । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।

९.३८ प्रतिशत बोनस पछि नागबेली लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६२८.०९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२३१.०५ रुपैयाँ तोकिएको छ ।

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, समितिको बैठकले उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१६ प्र्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ०७७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कोषको चुक्ता पुँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।