हाथवे फाइनान्स वार्षिक साधारणसभामा जाँदै, १८० प्रतिशत हकप्रद प्रस्ताव रद्ध गर्ने
काठमाडौं । हाथवे फाइनान्स लिमिटेड आगामी चैत २६ गते आफ्नो २२औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजीको १८० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई रद्ध गर्ने भएको छ । संस्थाले २१औँ वार्षिक साधारणसभाको विशेष प्रस्ताव अनुसार सो मात्रा अर्थात ५४ करोड रुपैयाँ बराबर हकप्रद सेयर जारी लागेको थियो । ग्लोबल आईएमई बैंक लिमिटेडसँग एक्वाएर हुने भएपछि उक्त प्रस्ताव रद्द गर्न लागेको कम्पनीले जनाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत १३ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । संस्थाकाे गत चैत १ गतेदेखि सेयर काराेबार राेक्का भइरहेकाे छ । संस्थाको सभा चैत २६ गते बिहान ११ बजे सुन्सरीस्थित धरानको होटल द रत्न इनमा बस्दै छ ।
आशा लघुवित्तका लगानीकर्ताले कमाए करिब १० प्रतिशत, शाइन रेसुङ्गाको सबैभन्दा बढी कारोबार
काठमाडौं । आइतबारको सेयर बजार सामान्य ५.९९ अंकले बढेर ११६१.४५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत वृद्धि हो । सामान्य अंकले बढेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा आइतबारको कारोबार रकममा गिरावट देखिएको छ । बजारमा कुल १७२ कम्पनीको ३७ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । जुन बिहीबारको तुलनामा करिब ११ करोड कम हो । गत बिहीबारको बजारमा कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कुल कारोबारमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ४ करोड ४६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
माउन्टेन हाईड्रोको आईपीओ बाँडफाँड, सबैले पाए न्युनतम ३० कित्ता
काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले फागुन २३ देखि २८ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ) चैत ३ गते बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सबैले अर्थात ५० हजार ९३८ जनाले न्युनतम ३० कित्ता सेयर पाएका छन् । सो मध्ये २६ हजार ९७३ आवेदकले न्यनतम ३० कित्ता सेयर पाएका छन् भने बाँकी २३ हजार ९६५ आवेदकले गोलाप्रथाबाट कुल ४० कित्ता सेयर पाएका क्यापिटलले जनाएको छ । सबैलाई ३० कित्ता बाँडफाँड गरेपछि दुई लाख ३९ हजार ६५० कित्ता सेयर बाँकी रहेको थियो । जसमा गोलाप्रथाबाट २३ हजार ९६५ आवेदकले थप १० कित्ता अर्थात कुल ४० कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल ५० हजार ९५४ जनाले ३३ लाख ९६ हजार ३५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमा १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ । माउन्टेनले १०० रुपैयाँ दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ बिक्री गरेको थियो । जसमा सामूहिक लगानी कोषलाई ४० हजार कित्ता, कर्मचारीहरुलाई ८ हजार ३२० कित्ता छुट्याई बाँकी रहेको १७ लाख ६७ हजार ७९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।