सेयर बजारमा विद्युतीय कारोबारको सीमा हट्यो, अब जति पनि भुक्तानी गर्न सकिने

काठमाडौं । सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा हटेको छ । यस्तो कारोबारमा लगाइएको सीमाको कारण सेयर बजार खोल्न सकिने भन्दै धितोपत्र बोर्डले नै बजार बन्द गराएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी हाल विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको हो । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यस्तै, इन्टरनेट बैंकिङको मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख रुपैयाँ र मासिक ३० लाख रुपैयाँ तथा अकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले जारी गरेको लकडाउनको समयमा कारोबार गर्न अप्ठेरो परेकोले सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई दिएको थियो । बोर्डको सुझाव अनुसार नै राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानीमा हुने सीमा हटाएको छ । कारोबारको सीमा हटाइएपनि एक पटकमा कति रकम भुक्तानी गर्न पाइने भन्ने विषयमा भने राष्ट्र बैंकले सीमा तोकेको छ । भुक्तानी प्रक्रियमा अपनाउनु पर्ने सावधानी र कारोबार सहज पनि बनाउनु पर्ने अवस्थाको कारण एक पटकमा कति रकम मात्रै ट्रान्सफर गर्न पाइने भनेर सीमा अझै कायम रहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिए । ‘सेयर किन्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने हो भने एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट भुक्तानी गर्ने हो भने एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइन्छ, त्योभन्दा बढी रकम भुक्तानी गर्नुपर्यो भने अर्काे पटक पठाउनु पर्ने भयो, पहिला एक दिनमा १ लाख रुपैयाँ र १० लाख रुपैयाँको सीमा थियो, अब त्यो सीमा छैन, एक पटकमा १ लाख र १० लाखको सीमा छ, एक दिनमा जतिपटक पनि यसरी रकम भुक्तानी गर्न पाउने व्यवस्था मिलाएर सीमा हटाएका छौं,’ कार्यकारी निर्देशक कडेलले भने ।

डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने

काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ । मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।

लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लगाउन रामकुमारी झाक्रीको प्रस्ताव

काठमाडौं । पुँजी बजार अध्ययन उपसमितिका संयोजक समेत रहेकी सांसद रामकुमारी झाक्रीले लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लागू गर्नुपर्ने बताएकी छन् । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसहितको समितिको टोलीले धितोपत्र बोर्डसँग गरेको छलफलमा सांसद झाक्रीले यस्तो बताएकी हुन् । सांसद झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने बताइन। नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने भन्दै उनले बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखिन् । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिए तापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको सभापति दाहालको भनाइ छ । उनले आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने र वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए । बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिदै सभापति दाहालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए । सांसद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखे । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी गराएका थिए । पुँजी बजार संवेदनशील बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरिएको जानकारी गराएका थिए । अध्यक्ष ढुंगानाले पँुजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको औल्याए । विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडीआइएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए । उपकार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा प्रस्तुतीकरण गरेका थिए ।