दरमखोला हाईड्रोपावरले साउन १५ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहलाई सेयर बिक्री गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन १९ गतेसम्म आवेदन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
सर्वाधिक सेयर कारोबार गर्नेमा नम्बर वान नासा, यी हुन् १ खर्बभन्दा बढी खरिदबिक्री गर्ने कम्पनी
काठमाडौं । एक वर्षको अवधिमा ब्रोकर कम्पनीहरुले ४२ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार गर्न आर्थिक वर्ष २०८१/८२ मा ९२ वटा ब्रोकर कम्पनीले ४२ खर्ब १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका हुन् । नेप्सेका अनुसार गत वर्ष सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटीजले गरेको छ । कम्पनीले गत वर्ष २ खर्ब ५८ अर्ब रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १ खर्ब २९ अर्ब रुपैयाँको सेयर बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब रुपैयाँकै सेयर बिक्री गरेको छ । यस्तै, इम्पेरियल सेक्युरिटीज (४५)ले गत वर्ष ८३ अर्ब २१ करोड रुपैयाँको सेयर बिक्री र ८७ अर्ब ७ करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको नेप्सले जनाएको छ । भिजन सेक्युरिटीज(३४)ले ७९ अर्ब ७८ करोड रुपैयाँको सेयर बिक्री र ७७ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद गरी १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । शनि सेक्युरिटीज (४२)ले गत वर्ष ७२ अर्ब ५६ करोड रुपैयाँको सेयर बिक्री र ७२ अर्ब ७० करोड रुपैयाँको सेयर खरिद गरी कुल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै, अनलाइन सेक्युरिटिज (४९)ले ७० अर्ब ५९ करोड रुपैयाँको बिक्री र ६८ अर्ब ८८ करोड रुपैयाँको खरिद गरी कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेप्सेले जनाएको छ । यस्तै, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (५७)ले १ खर्ब २० अर्ब रुपैयाँ, डाइनामिक मनी म्यानेजर सेक्युरिटीज (४४)ले १ खर्ब १० अर्ब रुपैयाँ, दिपशिखा धितोपत्र करोबार कम्पनी (३८)ले १ खर्ब ३ अर्ब रुपैयाँ, एबीसी सेक्युरिटीज (१७)ले ९७ अर्ब ९२ करोड रुपैयाँ र श्रीहरि सेक्युरिटीज (५६)ले ८४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन् । सबैभन्दा कम कारोबार गर्नेमा मनि वर्ल्ड सेयर एक्सचेञ्ज (७३)ले गरेको छ । यस कम्पनीले गत वर्ष ५ करोड ५७ लाख रुपैयाँको सेयर बिक्री र ७ करोड १९ लाख रुपैयाँको सेयर खरिद गरी कुल १२ करोड ७६ लाख रुपैयाँको मात्रै सेयर खरिदबिक्री गरेका हुन् । यस्तै, पहि इन्भेष्टमेन्टले १९ करोड २८ लाखको बिक्री र २० करोड ९४ लाख रुपैयाँको खरिद खरिद गरी कुल ४० करोड २२ लाख रुपैयाँ बराबको सेयर कारोबार गरेको छ ।
निभिक्स फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । निभिक्स फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने १३ लाख ७५ हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो । दुबै कम्पनीबीच बुधबार प्रत्याभूति व्यवस्थापन कार्य गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा निभिक्स फर्मास्यूटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजनचन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो । विसं २०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स २०८१ पुस २ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले हाल मुटु, मधुमेह, श्वास प्रश्वास, कलेजो र पेटसम्बन्धी ५६ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । साथै नयाँ औषधीको अनुसन्धान र उत्पादन विस्तारमा समेत कम्पनी सक्रिय रहेको जनाएको छ ।