बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले आज साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

७ प्रतिशत ब्याज पाइने नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । नबिल बैंकले आज साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन २० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।​​​​​​​ इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ । 

हिमालयन बैंकको सेयर ११८.८८ मा विड, यसरी तोडियो सञ्चय कोषको डिल

काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर खरिदका लागि ४ वटा आवेदन परेका छन् । बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिदका लागि अन्तिम दिनसम्म विभिन्न ४ लगानीकर्ताले आवेदन दिएको बैंकका कम्पनी सचिव विपिन हाडाले जानकारी दिए । हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ ।  ‘सेयर खरिदका लागि आएका आवेदनहरु हबिबलाई पठाइसकेका छौं । ४ वटा आवेदन परेका हुन् । सबै नाम कण्ठ छैन । अब हबिबले के निर्णय गर्छ सोही अनुसार अघि बढ्छ,’ कम्पनी सचिव हाडाले भने । नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउँछन् । सोही बमोजिम हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिएका छन् । हबिबले बिक्रीमा राखेको उक्त सेयर खरिदका लागि नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र अन्य दुई लगानीकर्ताले आवेदन दिएका हुन् । नेशनल लाइफ इन्स्योरेन्सले बिक्रीमा राखिएको सबै सेयर खरिदका लागि आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता ११८.८८ रुपैयाँ मूल्य तोकेर सबै सेयर खरिदका लागि आवेदन दिएको कम्पनी स्रोतको दाबी छ । बैंकले तोकेको मूल्यभन्दा नेशनल लाइफले प्रतिकित्ता ६.०८ रुपैयाँ बढीमा सेयर खरिदका लागि आवेदन दिएको हो । यस आधारमा बैंकले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँ बराबरको लगानी गर्नेछ ।   ‘हामी लगानी गर्न योग्य भएर नै आवेदन दिएका हौं । प्रमोटरको टेण्डर मागेको थियो । प्रमोटरकोतर्फबाट हामी इलिजेबल भयौं । हामी अलरेडी प्रमोटर छौं,’ कम्पनी स्रोतले भन्यो, ‘बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी गर्ने हो । त्यहाँ एक/दुइै प्रतिशत मात्रै ब्याजदर छ । हिमालयन बैंक राम्रो बैंक हो । त्यसैले दीर्घकालका लागि लगानी गर्याैं,’ कम्पनी स्रोतले भन्यो ।  हाल बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत अर्थात् २७ लाख ९ हजार ९४३ कित्ता सेयर स्वामित्व रहेको छ । जसमा ०.८८ प्रतिशत संस्थापक सेयर र ०.३७ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ । यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बैंकको सेयर खरिदका लागि आवेदन दिएको छ । तर, कम्पनीले २ लाख ५५ हजार कित्ता सेयर खरिदका लागि मात्रै आवेदन दिएको स्रोतको भनाइ छ । यसअघि बैंकमा कम्पनीको ५ लाख ५० हजार कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । स्रोतका अनुसार प्रतिकित्ता ११६ रुपैयाँका दरले सेयर खरिदका लागि आवेदन दिएको हो ।  ‘पुरै सेयरका लागि आवेदन दिन हाम्रो बजेटले पुग्दैन । सबै सेयर किन्नका लागि ३ अर्ब बढी रकम आवश्यक पर्छ । कम्पनीको १७ अर्बको फण्ड छ । सेयरमा १० प्रतिशत लगानी गर्न पाउँछन् । सो आधारमा १ अर्ब ७० करोड मात्रै लगानी गर्न पाउने हो । १ अर्ब १५ करोड सेयरमा लगानी भइसकेको छ । हाम्रो सीमा धेरै नभएपछि थोरै लगानी गरेका हौं,’ कम्पनी स्रोतले भन्यो । यस कारण पछि हट्यो सञ्चय कोष हबिब बैंकको सेयर खरिदका लागि सबैभन्दा बलियो दाबेदार मानिएको कर्मचारी सञ्चय कोषले भने प्राविधिक कारणले निवेदन नदिएको जनाएको छ । हिमालयन बैंकमा कर्मचारी सञ्चय कोष हबिब पछिको दोस्रो ठूलो सेयरधनी हो । बैंकमा कोषको १२.६२ प्रतिशत सेयर लगानी रहेको छ । पाकिस्तानको हबिबले सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाउँदा कर्मचारी सञ्चय कोषले खरिदका लागि चासो समेत देखाएको थियो । तर, विभिन्न २ वटा कारणले पछि हटेको कर्मचारी सञ्चय कोष स्रोतले बतायो । ‘हिमालयन बैंकको सेयर खरिदका लागि प्राविधिक समस्या आइपर्याे । राष्ट्र बैंक ऐनमा एउटा बैंक तथा वित्तीय संस्थाको सेयर एउटै कम्पनीले १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । अहिले नै हिमालयन बैंकमा कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैले लगानी गर्न नपाउने भयो,’ कोष स्रोतले भन्यो ।  राष्ट्र बैंकको व्यवस्थालाई प्रवाह नगरी १५ प्रतिशतभित्र रहने गरी आवेदन दिने तयारी कोषले गरेको थियो । तर, कर्मचारी सञ्चय कोष ऐन बाधक बन्यो । किनभने कोषको ऐनमा कुनै पनि संस्थामा लगानी गर्दा २५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल कोषको स्वामित्वमा रहेको सेयर र हबिब बैंकको स्वामित्वमा रहेको सेयर खरिद गर्दा कोषको स्वामित्व बैंकमा २५.५५ प्रतिशत हुन आउँछ । तर, कोषको ऐन बाधक बनेपछि लगानी गर्नबाट पछि हटेको उनको भनाइ छ ।  फेरि कोषले २५ प्रतिशत भित्र सीमा रहने गरी आवेदन दिने तयारी थालेको थियो । तर, हबिब बैंकले सेयर खण्डिकरण नगरी एउटै व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न सर्त राखेपछि कोषले आवेदन नै नदिएको स्रोतको भनाइ छ । ‘हबिब बैंकले सेयर ट्क्य्राएर बेच्दिन, एउटै व्यक्ति वा संस्थाले मात्रै सबै सेयर खरिद गर्नुपर्ने सर्त राख्यो । यसरी एउटै व्यक्तिले मात्रै सबै सेयर लिनुपर्छ भन्ने सर्त राख्नु जायज हो की होइन भने कोषले कानुनी राय समेत लियो । तर, उसको सम्पत्ति हो, उसले सर्त राखेर बेच्न पाउँछ भन्ने सुझाव आएपछि हामीले सेयरका लागि आवेदन दिन पाएनौं,’ स्रोतले भन्यो, ‘तैपनि हामीले कोषको सञ्चालक समितिमा प्रस्ताव लग्यौं तर बोर्डले रद्द गरिदियो ।’  यदि कुनै पनि व्यवस्थाले नरोकेको भए कोषले प्रतिकित्ता ११२.८० रुपैयाँ भन्दा बढी नहुने गरी आवेदन दिने तयारी गरेको थियो । तर, जुनसुकै विकल्प अपनाउँदा पनि बञ्चित हुने देखिएपछि कोष पछि हटेको उनको भनाइ छ ।