शाइन रेसुङ्गा बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र खरिद गर्ने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो
काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले अब साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।
हिमालयन बैंकमा लगानी गर्ने आज अन्तिम मौका
काठमाडौं । हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको एफपीओमा लगानीकर्ताहरुले आजसम्म लगानी गर्न सक्नेछन् । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गरेको हो । बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।