एनआईसी एशिया बैंकको साढे १३ करोडको सेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकको साढे १३ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर आज साउन ९ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको बैंकको ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । असार २७ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता .कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।