निफ्रा बैंकको ६.३१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भर्दा १९ गते बसेको बैठकले ६.३१ प्रतिशत प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ ।
नबिकेको २ लाख कित्ता नेपाल इन्स्योरेन्सले भदौ २७ गतेदेखि लिलामीमा राख्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।
झापा इनर्जीको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । झापा इनर्जीले आज भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।