आबिबि मर्चेन्ट बैंकिङ्गको आरबिबि फोकस ४० बिक्री खुला, १ करोड इकाई खरिद गर्न सकिने
काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्गले आज भदौ १८ गतेदेखि आरबिबि फोकस ४० निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको १२ वर्ष अवधि रहेको सामूहिक लगानी कोष बिक्री खुला गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई तथा १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक, १० लाख इकाई वा १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई छुट्याई बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको उक्त योजनामा लगानीकर्ताहरुले न्यूनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको म्युचुअल फण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज १ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
सेयर बजारको उतारचढावमा ग्लोबल आइएमई सेक्युरिटिजको प्रगती, लगानीकर्ताको भरोसा वृद्धि गर्ने
काठमाडौं । ग्लोबल आइएमई सेक्युरिटिजले संस्थागत सुधार र सेवा प्रभावकारितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभामार्फत वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी रणनीति पारित गर्दै सेवा प्रभावकारितामा जोड दिएको हो । साधारणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले लगानीकर्ताको विश्वास र भरोसा अभिवृद्धि गर्दै संस्थागत हितमा लाग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले लगानीकर्ताको विश्वास र भरोसा कायम हुने गरी संस्थाको सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले संस्थाको बृहत्तर हितमा काम गर्न जरुरी भएको उल्लेख गरे । कम्पनीकी प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतारचढाव, नियामक निकायका मार्गनिर्देशन र लगानीकर्ताको अपेक्षाबीच कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै वित्तीय वर्ष २०८१/८२ मा उल्लेखनीय प्रगति हासिल गरेको बताइन् । साधारणसभाले कम्पनीका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित ग्लोबल आइएमई सेक्युरिटिजले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साथै सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । कार्यक्रममा कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिष्ट्रार सूर्यप्रसाद चापागाईँ तथा विभिन्न क्षेत्रका व्यक्तित्व, बैंकका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेण्ट
काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरे । दुग्ध तथा दुग्ध जन्य पदार्थजस्तै दही, घ्यू, चकलेट र पनिर लगायतका अन्य उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो । स्वदेशी उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर बनाउने र उपभोक्ताहरूका लागि ुगोठदेखि भान्सासम्मु भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो कम्पनी स्थापित भएको हो ।