नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले सोही बैठकमार्फत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णयसमेत गरेको जनाएको छ । लघुवित्तले यस वर्ष लाभांश नदिने निर्णय गर्नुको कारण भने खुलाइएको छैन ।   

९ अर्बभन्दा बढीको आईपीओ आउँदै, २४ कम्पनीले पाए धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।  बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत आयोजनाका मात्रै छन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १०३ जलविद्युत् कम्पनी सेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतीक्षामा रहेका कम्पनीमा पनि जलविद्युतका बढी छन् । अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।  विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् ।  त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युतका ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् । 

तेलको मूल्य बढ्दा विश्वभरका सेयर बजारमा गिरावट

काठमाडौं । विश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकासहित विश्वका प्रमुख सेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाको एस एन्ड पी ५ सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क ५३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १.५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको सेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो । कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको सेयर मात्रै ४.४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको सेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको सेयर ६.६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको सेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि रहेको बताइएको छ । विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्‍याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ । यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्याङ्करहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जनाइएको छ ।