३० अंकले बढ्यो नेप्से, अप्पर लोहोरे खोलामा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २७५४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २४९ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ । कर्पोरेटको १७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको १७ करोड ६५ लाख, एपीआई पावर कम्पनीको ११ करोड ३२ लाख, रिडि पावरको ११ करोड २५ लाख र नेसनल हाइड्रोको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार सबै समूहका उपसूचकमा हरियाली छाएको छ । बैंकिङ ०.७३ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.४४ प्रतिशत, फाइनान्स १.४० प्रतिशत, होटल एन्ड टुरिजम १.८९ प्रतिशत, हाइड्रोपावर १.८९ प्रतिशत, इन्भेष्टमेन्ट १.१५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, म्युचल फन्ड ०.८२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.४४ प्रतिशत, अन्य १.०९ प्रतिशत र ट्रेडिङको १.५१ प्रतिशतले बढेका छन् ।
२२.२५ करोड फिर्ता गर्न ब्रोकरलाई हिमालयनको ताकेता
काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि (ब्रोकर नं. ५५) लाई करोडौं रकम फिर्ता गर्न ताकेता गरेको छ । हिमालयन इन्भेष्टमेन्ट बैंकर (योजना व्यवस्थापक) ले सञ्चालन गरेको एचएलआई लार्ज क्याप फण्डको नाममा ब्रोकर कम्पनीले कारोबार गर्नुपर्ने भए पनि सेयर खरिद नगरी फण्डको रकम रोकेको आरोप लगाएको हो । कम्पनीका अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत सेयर खरिदका लागि पटक-पटक रकम उपलब्ध गराइए पनि कारोबार नभई बाँकी रहेको रकम फिर्ता गरिएको छैन । कुल २२ करोड २५ लाख ७३ हजार ५९० रुपैयाँ फिर्ता गर्नुपर्ने दाबी गरेको हो । यसअघि पनि पटक-पटक ताकेता गरिए पनि रकम फिर्ता नभएको कम्पनीले जनाएको छ । ७ दिनभित्र सम्पूर्ण रकम तथा ब्याज-हर्जाना सहित फिर्ता गर्न भनिएको छ । यदि उक्त अवधिमा रकम फिर्ता नभए कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
हिमालयन पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । वैशाख १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेँसीशहर, दोर्दी, भोटेओडार र उदीपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।