बुङ्गल हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । बझाङको बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ । भदौ १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ । कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।  

जोशी हाइड्रोका सेयरधनीले हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०।६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।